प्यूठान । प्यूठान जिल्लामा सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) प्यूठानमा आबद्ध विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, प्रिन्सिपल, शिक्षक, चालक–सहचालक तथा कर्मचारीहरूलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रशिक्षणका क्रममा सवारी दुर्घटना हुनुका मुख्य चार कारणहरू मानवीय कारण, यान्त्रिक कारण, सडकको अवस्था तथा वातावरणीय कारण रहेको उल्लेख गर्दै दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरवाही र असावधानी महत्वपूर्ण रहेको बताइएको थियो ।

प्रहरी नायव निरीक्षक न्यौपानेले चालकले तीव्र गतिमा सवारी साधन चलाउन नहुने, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउन नहुने, अनिवार्य रूपमा सिटबेल्टको प्रयोग गर्नुपर्ने तथा बसमा सवार विद्यार्थी र यात्रुसँग नम्र, शिष्ट र जिम्मेवार व्यवहार गर्नुपर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिले सवारी साधन चलाउन नहुने र त्यस्ता व्यक्तिलाई सवारी चलाउन दिन पनि नहुने, सवारी साधनमा सिट थप गरी गल्लीमा यात्रु राख्न नहुने, क्षमताभन्दा बढी यात्रु बोक्न नहुने तथा पैदल यात्रुले जेब्रा क्रसिङबाट मात्र सुरक्षित रूपमा बाटो काट्नुपर्ने लगायतका विषयमा समेत सचेत गराइएको थियो ।

विद्यालय प्रशासनले समेत अभिभावकको भूमिका निर्वाह गर्दै आफ्ना शिक्षक, कर्मचारी, चालक तथा सहचालकलाई समय–समयमा ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गर्नुपर्नेमा प्रशिक्षणका क्रममा जोड दिइएको थियो। चालक तथा सहचालकलाई ट्राफिक नियमको पालना गर्न सम्झाइ–बुझाइ गर्ने, जिम्मेवारीबोध गराउने तथा नियम उल्लङ्घन नगर्न नियमित रूपमा आग्रह गर्नुपर्ने बताइएको थियो ।

विद्यालय तथा अन्य सवारी साधनमा फायर एक्स्टिङ्गुइसर, प्राथमिक उपचार सामग्री तथा डस्टबिन अनिवार्य रूपमा राख्नुपर्ने विषयमा समेत विशेष जोड दिइएको थियो। विद्यालय बसमा सवार विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै चालक तथा सहचालकले विद्यार्थीहरूसँग नम्र, सभ्य र जिम्मेवार व्यवहार गर्नुपर्ने तथा उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने दायित्व पूरा गर्नुपर्ने बताइएको थियो ।

प्रशिक्षणमा सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक, चालक, सहचालक, विद्यार्थी तथा अभिभावक सबैको साझा जिम्मेवारी भएकोमा जोड दिइएको थियो। विद्यालयबाट सञ्चालन हुने सवारी साधनलाई सुरक्षित, व्यवस्थित र अनुशासित बनाउन विद्यालय प्रशासनले नियमित अनुगमन तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमले विद्यालयमा कार्यरत चालक तथा सहचालकलाई जिम्मेवार, अनुशासित र सडक सुरक्षाप्रति संवेदनशील बनाउन तथा विद्यालय सवारी साधनबाट हुने सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्यूठान नगरपालिका–४ स्थित होटल आयुष्माको सभाहलमा आयोजित कार्यक्रममा प्याब्सन प्यूठानका अध्यक्ष दिपेन्द्र कुमार जि.सी.को अध्यक्षता तथा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय