प्युठान । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्युठान क्षेत्र नम्बर २ बाट निर्वाचित संविधानसभा सदस्य तथा वामपन्थी नेता दिपकबहादुर केसीको निधन भएको छ।
प्युठान नगरपालिका–१० टाकुरा निवासी ८५ वर्षीय केसीको आफ्नै निवासमा आइतबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पछिल्लो समय विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहनुभएका केसी मुटुरोग, निमोनिया, दम तथा उच्च रक्तचापलगायत समस्याबाट पीडित हुनुहुन्थ्यो। केही समयअघि उपचारका लागि अस्पताल भर्ना गरिएका उहाँको स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालले घरमै आराम गर्ने गरी रेफर गरेको थियो। उहाँका दुई भाइ छोरा र पाँच बहिनी छोरीहरुको छन् ।
स्वर्गीय केसी राजनीतिकर्मी मात्र नभई लामो समय शिक्षा क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो। उहाँले बाल विद्या माध्यमिक विद्यालय, मजुवामा लामो समय प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो। शिक्षण पेशामार्फत समाजमा योगदान पुर्याउनुभएका उहाँ पछिल्लो समय सक्रिय राजनीतिमा समेत स्थापित हुनुभएको थियो।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट प्युठान क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि उहाँ संविधान निर्माणको ऐतिहासिक प्रक्रियामा सहभागी हुनुभएको थियो।
केसी माओवादी जनयुद्धको समयमा भुमिगतरुपमा पार्टीको काममा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो। जनयुद्धका क्रममा उहाँको परिवार नै आन्दोलनमा होमिएको थियो। व्यक्तिगत तथा पारिवारिक जीवनका कठिनाइलाई बेवास्ता गर्दै उहाँ राजनीतिक परिवर्तनको अभियानमा सक्रिय रहनुभएको थियो।
उहाँलाई निकटस्थहरू वैचारिक रूपमा स्पष्ट, निष्ठावान र क्रान्तिकारी वामपन्थी नेताका रूपमा स्मरण गर्छन्। राजनीतिलाई पद र प्रतिष्ठाभन्दा विचार, परिवर्तन र सामाजिक रूपान्तरणसँग जोडेर हेर्ने उहाँको आफ्नै राजनीतिक पहिचान थियो।
प्युठानको वामपन्थी आन्दोलनमा लामो समय सक्रिय केसीले शिक्षा, राजनीति र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई स्थानीय राजनीतिकर्मी तथा शुभेच्छुकहरूले स्मरण गरेका छन्।
केसीको निधनले प्युठानको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्वर्गीय केसीको अन्तिम संस्कार आजै गरिने
स्वर्गीय दिपकबहादुर केसीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली तथा अन्तिम भेटका लागि उहाँकै निवास टाकुरामा राखिएको छ। परिवारका सदस्य तथा आफन्तजनहरू आउने क्रम जारी रहेकोले अन्तिम भेटको लागि उहाँको पार्थिव शरीर घरमै राखिएको पारिवारिक स्रोतले जनाएको छ।
सबै परिवारजन तथा आफन्तहरू भेला भएपछि आजै हिन्दु परम्पराअनुसार उहाँको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उहाँको अन्त्येष्टि आज प्युठानको खरिवोट नजिक झिमरुक खोलाको किनारमा गरिने जनाएको छ।
स्वर्गीय केसीको निधनको खबरपछि उहाँको निवासमा आफन्त, शुभेच्छुक, राजनीतिकर्मी तथा स्थानीयवासी पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।


S.K. Creative Media Group