सुर्खेत । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी, पहिरोका कारण जनधनको क्षति भएको छ। पहिरोमा परी ३ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस्तै पहिरोमा परी फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्कीसहित तीन जना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको र बेपत्ताको अवस्था पत्ता लगाउन स्थानीय, जनप्रतिनिधि र प्रहरी टोली खटिरहेको छ।

बाढीपहिरोमा परी घाइते भएका सात जनामध्ये पाँच जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका अन्य दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नम्बर ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नम्बर १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा रहेको प्रहरीको भनाइ छ। लगातारको वर्षा र कठिन भूगोलका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान गर्न टोलि परिचालनको लागि तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय