रुकुम पश्चिम । गएको शुक्रबार राती आएको भूकम्पको कारण मृत्यु भएका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले भूकम्पको कारण मृत्यु भएको घरमै पुगेर मृतकका परिवारलाई दुई लाख रुपियाँको दरले राहत दिन थालेको हो ।
शुक्रबारदेखि मृतकका नजिकका कानूनी हकवालालाई राहत रकम वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । प्रजिअ पन्तका अनुसार विपद् पीडित उद्धार राहतसम्बन्धि मापदण्ड, २०७७ अनुसार जनही दुई लाख रुपियाँको दरले राहत वितरण गरिनेछ।
एकैघरका एकजना भन्दा बढिको मृत्यु भएको अवस्थामा भने एक जनालाई दुई लाख र अन्य मृतकलाई संख्याको आधारमा एक–एक लाख गरेर उपलब्ध गराइएको छ । पहिलो दिन १६ जना मृतकका नौ परिवारलाई २५ लाख रुपियाँ राहत उपलब्ध गराइएको छ । सानीभेरी गाउँपालिका भित्रका १० जना मृतक र आठविसकोट नगरपालिकाका १४ छेपारे गाउँका ६ जना मृतकका आफन्तजनलाई राहत वितरण गरिएको प्रजिअ पन्तले बताउनुभयो ।
भुकम्प पीडित परिवारलाई सहजताको लागि घरमै गएर राहत दिइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । प्रजिअ पन्तका अनुसार जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख सहितको टोलीको रहवरमा मृतक परिवालाई राहत उपलब्ध गराएको बताउनुभयो ।
एकदुई दिनमै सबै मृतकका परिवारलाई राहत उपलब्ध गराइसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको थियो भने शुक्रबार उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ ।