
वासुदेव गिरी
प्युठान । दहखोला साबिक तोरबाङ्ग गाउँ बिकास समिती वडा नम्बर १ मा पर्थ्यो । हाल राज्य पुर्न संरचना संगै प्युठान झिमरुक गाउँपालिका वडा नम्बर ६ मा पर्छ । दहखोलामा बसोबास गर्ने दशनामी गिरी महन्तहरुको आज तिहारे पञ्चमीको दिन कुलपुजा हुदैछ।
करिब ३०० सय वर्ष पहिले भारतको काश्मिर राज्यमा गोबिन्द चन्द (ठकुरी वंश) राजाको राजकाज थियो । त्योबेला त्यहाँका एक छिमेकी मुस्लिम राजा संग लडाइँ हुँदा पराजित भएपछि गोबिन्द चन्द आफ्ना चेलाचक्कर सहित सुरक्षित स्थानको खोजिमा नेपालको प्युठान दहखोला आएको किबदन्ती रहेको छ ।
काश्मिरको लडाइँमा पराजय भएपछि उहाँ सन्यासी भएर नेपाल आएको र साथमा ४ जना ब्यक्ती समेतलाई लिएर आएको भनाइ छ । कास्मिरबाट यहाँ आएपछि गैराबरीमा मौलो बनाइ छेउमा कुटी बनाएर बसेको भन्ने भनाइ छ ।
त्यसपछि गोबिन्द गिरीले आफ्ना भाइभारादारहरु लाई गैराबारी भन्ने स्थान अर्थात अहिले जहाँ शिद्दा मन्दिर रहेको स्थानको जमिनमा खाल्डो बनाउनलगाई आफू जिउँदै खाल्डोमा अलप भएको भन्ने इतिहास भेटिन्छ । उहाँ अलोप समाधीलाई भएको स्थानमा मन्दिर निर्माण गरि निरन्तर रुपमा तिहारे पञ्चमीको दिन सबै दाजुभाइ इष्टमित्र आफन्त जम्मा भइ सामुहिक पुजा गर्दै आएको छ । सबैजना भेला जम्मा भएर भण्डारा लगाएर खुवाउने गरिन्छ ।
लडाइ झगडा हिंसा त्यागेर शान्तिको बाटो समातेकोले कुलपुजाको दिन मारकाट नगर्ने छोइछिटो नगर्ने निराहार बस्ने गरिन्छ । मौलो फेरेपछी पुजा सकेर पर्साद्को रुपमा त्यही मन्दिरमा बनाइएको हलुवा खिर रोटि अचार तरकारी आफन्त पाहुना र परिवार मिलेर ग्रहण गरिन्छ ।
सामुहिक रुपमा भण्डारा खुवाउने परम्पराले भाइबन्धुहरु बिच आत्मीयता, भाइचारा, भातृत्व, एकता, सद्भाव, अहिंसा सदैब कायम रहिरहोस भन्ने सन्देश दिएको छ । यसैदिनलाई कुलपुजा मानिएको छ । तिहारे पञ्चमीको दिन कुलपुजा गर्दा वा भण्डारा लगाउदा लाग्ने खर्च सबै घरपरिवार मिलेर ब्यवस्थापन गर्दै आएको छ ।
यहाँका गिरीहरुले प्रत्येक वर्ष नयाँ बाली भित्र्याउदा मन्दिरमा न्वाइँ चढाएर मात्र खाने गरिन्छ । यो चलन अहिलेसम्म पनि कायमै रहेको छ । खासगरी शिद्ध मन्दिरमा तिहारे पञ्चमी र नाग पञ्चमीमा विशेष पुजाआजा गरि धुमधामका साथ मनाउने गरिन्छ ।
गोबिन्द गिरी जिउँदै अलप भएको पबित्र स्थानामा मन्दिर निर्माण गरेर वर्षको एकपटक तिहारे पञ्चमीको दिन मौलो फेर्ने चलन समेत रहेको छ । मौलोको रुपमा बासको लिंगो गाड्ने चलन छ । लिङ्गोको टुप्पोमा गेरु रंगको कपडाको ध्वजा बनाई चढाउने गरिन्छ । गोबिन्द गिरी अलप भएको पबित्र स्थान प्युठान दहखोलाको गैराबारी वरिपरिको स्थानलाई मठमा परिणत भएको र त्यहाँ काम गर्ने चेलालाई महन्त भन्ने गरियो ।
यसरी हाम्रा पुर्खाहरु मठहरुमा महन्तको रुपमा कामकाज तथा पुजा आजा गर्न जाने गरेको र त्यसै क्रममा रोल्पाको सिर्पमा महन्थको बिर्ताको रुपमा कायम गरिएको थियो । त्यो बिर्ता लामो समयसम्म कायम रहेको पाइन्छ । राणाहरुको पालामा बिर्ता हरण भएको इतिहास पाइन्छ ।
रोल्पाको सिर्पबाट तिहारे पञ्चमीमा नाच लिएर आउने रातभरि नाच गान गर्ने रमाइलो गर्ने चलन थियो र अहिले त्यो रोकिएको छ। सिर्पबाट आएर पुत बढाइको लागि छोराछोरी समाएर नचाउने र पुत बढाइको भाग दिने चलन पनि थियो ।
एक बृद्ध स्थानीयका अनुसार पहिले यो मन्दिर यो क्षेत्रकै महत्त्वपूर्ण मन्दिर रहेको र यस प्युठान आसपास लगाए रोल्पा समेतबाट पुजाआज गर्न आउने चलन रहेको बताउनुभयो । अहिले भने दहखोलामा रहेका दशनामी गिरीहरुले पुजा गर्दै आएका छन् ।
दहखोले दशनामी गिरी महन्तहरु अहिले प्युठान, दाङ, काठमाडौं, गैंडाकोट, टिकापुर कैलाली, बुटवल भारतको आसाम बर्मा समेत रहेको छन । अहिलेसम्म करिब १०० बढी घरधुरी रहेका छन् । शैक्षिक हिसाबले निकै अगाडि रहेको छ । नेपालको प्रशासनिक क्षेत्रमा पनि पछिल्लोपटक अगाडि बढेको पाइन्छ । राजनीतिक क्षेत्रमा भने धेरै चासो दिएको पाइदैन । यद्यपि यहाँका महन्तहरु आर्थिक राजनीतिक सामाजिक शैक्षिक हिसाबले हेर्दा अब्बल मानिन्छ । यहाँका दशनामी गिरी महन्तहरुलाई मृत्यु पश्चात्को सस्कार अनुसार समाधी बनाएर समाधिष्ट गरिन्छ ।
भौतिक संरचना निर्माण गरिदै
स्थानकाल देखि सानो एकतले माटोको गार्हो ढुङ्गाले छाएको छनो भएको वरिपरि काठको पाली रहेको मन्दिर थियो। उक्त मन्दिर जिर्ण भएकोले पुरानो मन्दिरलाई भत्काएर नयाँ तिनतले पुरानै शैलीमा मन्दिर निर्माण गरिएको छ ।
सोही स्थानमा नजिकै सभा हल सहित स्टोर र भोजनालय पनि निर्माण गरिएको छ । मन्दिर निर्माणको लागि झिमरुक गाउँपालिका वडा कार्यालय पर्यटन बिभाग प्रदेश सरकार लगाएत स्थानीय दशनामी बन्धुहरुको सहयोगबाट निर्माण गरिएको हो ।
निर्माणका काम धेरै बाकी रहेका छन् । विद्युतकण गेट तारबार रंगरोगन लगाएतको काम बाकी रहेको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष पदम गिरीले बताउनुभयो । गाउँपालिका वडा कार्यालय संघ प्रदेशमा पहल भैरहेकोले बजेट ब्यवस्थापन भए यो बाकी काम पनि सम्पन्न गर्ने लक्ष रहेको बताउनुभयो ।
गाउँ अति सुन्दर र वरिपरि अल्का पहाडले घेरिएको बिचमा दहखोला बगेको छ । खोलाको आसपासमा खेतीयोग्य जमिर रहेको छ । यस क्षेत्रलाई अन्नको भण्डारको रुपमा लिइन्छ।