प्यूठान । भाइटिकाको भोलीपल्ट लाग्ने प्यूठानको ऐतिहासिक डल्ले सरायँ मेलामा यसवर्ष पनि हजारौं दर्शकहरुले अवलोकन गरेका छन । जिल्लाको मध्यक्षेत्र प्यूठान नगरपालिका वडा नम्वर ७ मा सरायँ नाँच प्रतियोगिता गरिएको हो ।

एकलाख रुपैयाँ राशीको पुरस्कार प्यूठान नगरपालिका–४ स्थित थापडाँडा समुहले हासिल गरेको छ । द्धितिय प्यूठान नगरपालिका–१, खैरा सरायँ समुह, र तृतिय प्यूठान नगरपालिका–१०, सारीबाङ सरायँ समूह भएका छन् ।

प्रतियोगितामा द्धितिय र तृतिय समूहलाइ नगद ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सहभागी सवै समूहलाई २०/२० हजार रुपैयाँ प्रोत्साहन र सरायँ नाचको खर्च व्यवस्थापन रूपमा पुरस्कार प्रदान गरिएको छ ।

विजयी समुहलाई प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री सरोज थापा (रोज राणा) ले पुरस्कार रकमको चेक तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । मन्त्री थापाले ऐतिहासिक महत्व बोकेको मेलालाई थप व्यवस्थित ढंगबाट सञ्चालन गर्दै जानुपर्नेमा जोड दिनुभएको छ।

 

करिव सातसय वर्ष अघिदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरकेो सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ ।

महिलाको सरायँ नाच मुख्य आकर्षण 

प्युठान नगरपालिका–५ जुम्रीकाढाका महिलाहरुले तरबार नचाएका छन् । पछिल्ला दिनहरुमा जिल्लामा हरेक ठाउँमा लाग्ने सरायँ मेलामा महिलाहरूको प्रस्तुतिमा आकर्षक बढ्दै गएको छ। तिहार पछि लाग्ने डल्लेमेलामा उहाँहरुले महिलाहरु के कम पुरुष सरह काम गर्न सक्छन भन्दै तरबार नचाएका हुन् ।

डल्ले मेलामा महिलाहरू तरवारसंग खेल्न थालेपछि दर्शकहरूले चासो दिएर हेरेका थिए । लामो समयदेखीको इतिहास बोकेको डल्ले सराय मेलामा पुरूषको मात्रै सहभागीता देख्दै आएका दर्शक महिला पनि तरवार छोपेर ताल र लयमा नाच प्रदर्सन गर्न थालेपछि दर्शकहरु झन दंग परेका थिए ।

२०७३ सालमा पहिलो पटक यस मेलामा सहभागी भएका जुम्रीकाढाका महिलाहरु त्यसपछि निरन्तर मेलामा सहभागी हुँदै आएका छन् । महिलाको नौलो प्रस्तुति देखेपछि मेला हेर्न आएका अधिकांश दर्शकहरूको ध्यान महिलाको सरायँ नृत्य मै केन्द्रीत थिए । गुनियो चोलीमा सजिएर हातमा तरवार लिएर मैदान सरायँ नाचले रमाइलो तुल्याएको थियो।

जिल्लाकै ऐतिहासिक डल्ले सराय मेलामा ९ समुहको सहभागिता रहेको सराय नाँच मूल्यांकन समितका गेहराज थापाले जानकारी दिनुभयो ।

२०७० सालमा प्यूठानका तत्कालिन सांसद बामदेव गौतमको पहलमा आकर्षक पुरस्कारको व्यवस्थापन गर्ने परिपाटीसंगै सराय मेलामा आकर्षण बढेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय सरायँ नाँचलाई प्यूठान नगरपालिकाले प्रतियोगितात्मक ढंगबाट अगाडि बढाइरहेको छ ।

डल्ले सरायँको छुट्टै ऐतिहासिक महत्त्व रहेको छ । जाटबंशिय राक्षसी प्रवृत्तिका राजालाई चन्द वंशिय राजाले प्यूठान राज्यको राजधानी भित्रिकोटबाट लखेट्दै आउँदा डल्ले स्थानमा वध गरिएको खुशीयालीमा वाख्खै, वाख्खै गर्दै हातमा तरवार खुँडा भाला लिएर सरायँ नाच नाँच्ने गरिएको स्थानीय गेहराज थापाले बताउनुभयो।

यो युद्धमा बिजय प्राप्त गरेपछि खुशियालीमा हातमा तरवार लिएर नाचिने गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय