सरद बिष्ट

सामान्यता औपचारिक शिक्षा हासिल गर्ने उमेर समुह नपुगेका अढाई बर्ष वा सो भन्दा साना उमेर समुहका साना बालबालिकालाई शिक्षा र शैक्षिक ज्ञानप्रति अभिरुची जगाउने उद्धेश्यले सञ्चालन गरिने एक असल शैक्षिक अभ्यासको कार्यक्रम नै प्रिस्कुलर साक्षरता हो । यो कार्यक्रम र यसको बिषयबस्तु बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । फेरि प्रिस्कुलर भनेको के हो ? यो बिषयवारे जिज्ञासा र कौतुहलता लाग्नु स्वभाविक पनि हो । यो बिषयबारे थोरै भएपनि माथि जोडिसकेको छु । हामीलाई थाहा छ, बि.सं. २०७८ को जनगणना अनुसार अहिले नेपालमा बसोबास गर्ने मानिसहरु झण्डै १२४ प्रकारका भाषाहरु बोल्ने गर्दछन ।

त्यसैले नेपालमा बहुभाषिक र साँस्कृतिक दृष्टिकोणलाई अँगाल्दै प्रिस्कुलरहरुमा साक्षरता बिकासको प्रयास गर्ने गरिएको पाईन्छ । आफ्ना बालबालिकाहरुसँग खेल्दै, सिक्दै, सिकाउदै, हाउभाउ गरेर, छिमेकमा आफन्तहरुसँग घुलमिल गराएर, फोनेटिक्स, इसिडी केन्द्रहरु र प्रविधिको उचित प्रयोग गरेर, आमाबाबु र शिक्षकहरु स्वयंमले पनि साक्षरता बिकास गर्ने वातावरण सिर्जना गर्न सक्छन् । घरमा कुनै पनि सिकाइका अभ्यासहरु र पूर्वज्ञान नगराइकन बिद्यालयमा पठाउदा बालबालिकाहरु रुने, चिच्चाउने, कराउने र बिद्यालयमा बस्न मन गर्दैनन् । साना कक्षाहरु नर्सरी, किन्डर गार्डेन, मन्टेश्वरी र कक्षा–१ मा बालबालिकाहरुलाई पहिलो र नयाँ भर्ना लिएर पठनपाठन गर्न फलामको चिउरा चपाए झै हुन्छ । त्यस्ता कक्षामा शिक्षकहरुलाई शिक्षण गर्न पनि निकै चुनौतिपूर्ण हुन्छ ।

बच्चालाई औपचारिक बिद्यालय शिक्षाका लागि तयार गर्ने, उनीहरुको सञ्चार कलालाई प्रभावकारी बनाउने तथा व्यक्तिगत र शैक्षिक जीवनलाई सफल पार्नको लागि जग बसाल्ने काम हामी सबैले गर्नुपर्छ । बालबालिकाले सिक्नु पर्ने कुरा समयमा सिकेनन्, पढ्न दिएको कुरा पढ्न जानेनन्, लेख्न दिएको कुरा लेख्न जानेनन् भने आम अभिभावको टाउको दुखाई हुन्छ । आजभोली धेरै जसो अभिभाबकका दुई सन्तान ईश्वरका बरदान भनेझै हुन्छन् । त्यसैले जमाना बदलिएसँगै अहिले बालबालिकाको लागि अभिभावकले शिक्षामा लाखौं तथा करौंडौ लगानी गर्नको लागि पनि पछाडी हट्दैनन् । लगानी अनुसारको फलको अपेक्षा गर्नु स्वभाविक पनि हो । त्यसैले प्रिस्कुलर समुहका बालबालिकाहरुको साक्षरता विकासको लागि निम्न कुरामा ध्यान दिनुपर्छ ।

आवाज निकालेर पढ्नु : साना दुधे बालबालिकामा साक्षरता विकासलाई प्रवद्र्धन गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको नै शुद्ध रुपमा स्वर निकालेर पढ्न लगाउनु हो । यसले शव्दावली र भाषिक सीपहरु निर्माण गर्न सहयोग गर्छ । संज्ञानात्मक बिकासलाई पनि धेरै बढाउँछ । घरमा आमाबाबुले सरल भाषा, मिठो भाषा प्रयोग गरेर रंगीन तस्वीर भएका कितावहरुको माध्यममा सिकाइ र पढाईको जग बलियो बनाउन सहयोग गर्नुपर्छ । यस्तो कार्यले बालबालिकाको आत्मविश्वास बढ्दै जान्छ ।

अक्षर पहिचान : प्रिस्कुलर समुहका बालबालिकाहरुलाई अक्षर चिन्न सिकाउनु साक्षरता सीप विकास गर्ने दिशाको महत्वपूर्ण अभियान हो । हरेक अभिभावकले आफ्ना साना दुधे बालबालिकाहरुलाई अक्षरहरु देखाएर सिकाइप्रति अभिरुची पैदा गर्न सक्छन् । जस्तै बिभिन्न चिन्ह, लेबल र प्याकेजिङजस्ता रङगिन अक्षरहरु देखाएर यो कामको सुरुवात गर्न सकिन्छ । यिनीहरुले वर्णमालाका पुस्तक र शैक्षिक खेलहरु पनि प्रयोग गरेर अक्षरहरुको ज्ञान बालबालिकाहरुमा दिन सकिन्छ ।

लेखन कार्य : यो समूहका बालबालिकाहरुलाई अक्षरहरुको पहिचान गराई सकेपछि चिनेका अक्षरहरुलाई कसरी लेख्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले अक्षर–अक्षर जोडेर कसरी शब्द बन्छ ? भन्ने कुरा सिकाउन अभिभावकहरुले पनि अभिप्रेरित गर्नुपर्छ । अभिभावकले आफना छोराछोरीलाई उनीहरुको नाम लेख्न, चित्र कोर्न र ट्रेसिङ अक्षरहर देखाएर पनि अभ्यास गराउन सकिन्छ । यो कार्य त्यति सजिलो भने पक्कै छैन् । पटक पटक अभ्यास गराउन जरुरी छ । सुरुवातदेखि नै सुन्दर अक्षरहरुको लेखन शैली बिकास हुदै गयो भने बालबालिकाहरु सधैभरि राम्रा अक्षरहरु लेख्नुपर्छ भन्ने सीपको बिकास गर्छन् ।

शव्दावलीको ज्ञान : प्रिस्कुलर समुहका बालबालिकाहरुको साक्षरता विकास गर्नको लागि बलियो शब्दावलीको ज्ञान हुन जरुरी छ । खेल्दै सिक्दै जाने यो उमेर समुहका बालबालिकाहरुलाई हाम्रो वरपर भएका सजिब तथा निर्जिब बस्तुहरुको जानकारी गराएर शब्द भण्डारको ज्ञान दिन सकिन्छ । यस कार्यमा स्वयम् बालबालिकाहरुलाई देखाएर, अनुभव गराएर, प्रश्न गर्दै अन्र्तकृया कार्य गराएर उनहिरुको मतिष्कमा शब्द ज्ञानको भण्डार गर्न सकिन्छ । जस्तै भातलाई माम, पानीलाई पा र दुधलाई बुबु भनेर शब्दको ज्ञान दिन सकिन्छ ।

फोनेमिक पहिचान : फोनेमिकले एक विशेष भाषमा प्रयोग हुने फोनिमहरुको अध्ययनलाई जनाउँछ । यो अध्ययनमा विभिन्न ध्वनिहरु कसरी मिलेर शब्दहरु बनाउँछन् र ती शब्दहरुको उच्चारण कसरी फरक फरक हुन्छ भनेर बिश्लेषण गरिन्छ । जस्तै उदाहरणको लागि, अंग्रेजीमा BAT र CAT शब्दमा B र C छुट्टाछुट्टै फोनिम हुन् । किनभने तिनीहरुले शब्दको अर्थमा परिवर्तन ल्याउँछन् । फोनोमिक पहिचान भनेको शब्दमा आवाज सुन्न र छुट्याउन सक्ने क्षमता हो । पढ्ने र लेख्ने क्षमता विकास गर्नको लागि एक महत्वपूर्ण कला र कार्य पनि हो । आमाबाबुले खेलका बिभिन्न माध्यमहरुबाट बिभिन्न सिपहरुको सिकाई अभिबृद्धि गर्न सक्छन् । ताली बजाउने र वर्ड प्ले समाबेश गरेर प्रिस्कुलरहरुमा फोनेमिक जागरुकता र पहिचान गन सकिन्छ ।

प्रविधि : प्रिस्कुलरमा साक्षरता विकासलाई बढावा दिनको लागि प्रविधि एक बहुमुल्य उपकरण हुन सक्छ । यो उमेर समुहका बालबालिकाहरुबाट नै प्रविधिको प्रयोग सुचारु भएको पाईन्छ । प्रविधिले जीवन र जगतलाई नजिकबाट जोड्ने काम गर्दछ । प्रविधिबाट सिकाई भएन भने स्कुलमा पनि बालबालिकाहरुले सिकाईमा अभिरुचि देखाउदैनन् । प्रविधिको दुरुपयोग नगरिकन सिकाईलाई प्रभावकारी रुपमा अगाडी बढाउने हो भने बालबालिकाहरुलाई धेरै ज्ञान र व्यबहारिक सिपहरु प्रदान गर्न सकिन्छ । शैक्षिक एप र खेलहरुले पढाई, लेखाइ र भाषिक सीपलाई बढावा दिने अन्तरक्रियात्मक र आकर्षक सिकाइ अनुभवहरु प्रदान गर्न सक्छन् । हिजोआज बच्चाहरु ग्याजेट तथा मोबाइलमा झुम्मिने परिस्थिति बन्न नदिनका लागि अभिभावक धेरै चनाखो र सचेत बन्नुपर्छ ।
(नोट : लेखक लोक चेतना एकेडेमी बिद्यालयको माध्यमिक तहमा सामाजिक÷अंगेजी बिषयका शिक्षक हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय