प्युठान । प्युठानको मच्छी ठुलाबेसी सडक खण्डको लामासेरामा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मंगलबार बिहान गौमुखी गाउँपालिका -७, नारिकोटबाट यात्रु लिएर बाग्दुलाको लागि छुटेकोको लु १ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी झिमरुक गाउँपालिका-३, लामासेरा स्थित क्रसर उद्योग नजिक दुर्घटना भएको हो ।

दुई बच्चा सहित १४ जना यात्रु सवार रहेको फोर्स जिपमा ८ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानको भनाइ छ । प्रहरीका अनुसार एक्कासि ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर गाडी सडकमै पल्टिएको हो ।

घाइते हुनेहरूमा प्युठानको गौमुखी गाउँपालिका–७ नारीकोटकी ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, २८ वर्षीय रवि सुनार, ३५ वर्षीया सीता रोका, १० वर्षीय रबिन रोका, पाँच वर्षीय सरप्राइज केसी र गुल्मीको मदाने गाउँपालिका–१ की २८ वर्षीया शान्ता परियार रहेका छन् ।

घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइतेमध्ये रवि सुनारलाई भने थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

गौमुखी गाउँपालिका- ७ नारिकोट बस्ने २५ वर्षीय चालक रिखिराम केसी प्रहरीको नियन्त्रणमा रहेको छन् । दुर्घटना बारे थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय