प्यूठान । साहित्य परिषद प्यूठानको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जुम्रीमा आयोजित साधारणसभामा साहित्य परिषद प्यूठानको मुखपत्र ‘सुमन’ विमोचन समेत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले समाजको चेतनास्तर उठाउँदै समाजलाई सकारात्मक बाटोमा लैजानका लागि साहित्य क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । साहित्यलाई मनोरन्जनको रुपमा मात्र सिमित राख्न नहुँने भन्दै समाजलाई सहि दिशा प्रदान गर्न साहित्यकार सृजनशिल बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ प्यूठानका सचिव बासुदेव गिरीले साहित्य र पत्रकारिता विधा एक आपसमा अन्तरसम्वन्धित भएकाले धेरै विषयमा सहकार्य गर्न सकिने बताउनुभयो । त्यसका लागि महासंघले पहल गर्ने समेत बताउनुभयो । प्यूठान जिल्लाको साहित्यलाई माथी उठाउन सञ्चारमाध्यम र सञ्चारकर्मीले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।
संस्थाका सचिव सानु गुल्मेलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना समेत प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार संस्थाको भवन निर्माणका लागि जग्गा खोजी गर्ने, सवै पालिकामा लेखनशिप तालिम सञ्चालन गर्ने लगायतका योजना रहेका छन । कोषाध्यक्ष श्याम विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष धुर्व गिरी र सञ्चालन सचिव सानु गुल्मेलीले गर्नुभएको थियो । साहित्य परिषद प्यूठानका सदस्य भानुभक्त पोख्रेलले सुमन पत्रिकाको समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले कविता, गजल र मुक्तक समेत वाचन गरेका थिए ।



S.K. Creative Media Group