प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको चिसावाङ- राट्टारी झोलुङ्गे पुल बन्ने भएको छ । झिमरुक गाउँपालिका वडा नम्बर ६ को चिसावाङ र वडा नम्बर ७ को राट्टारी गाउँलाई जोड्ने गरि झोलुङ्गे पुल निर्माणको लागि सर्भे गर्ने कार्य सकिएको हो ।

झोलुङ्गे पुल निर्माणको लागि हरेक वर्ष बजेट बिनियोजन भएपनी स्थानीयले जग्गा विवादको कारण लामो समय काम हुन नसकेको स्थानीय इन्द्रमणि पोख्रेलले बताउनुभयो। उहाँका अनुसार करिब १६ वर्ष देखि पुल बन्ने भनिएपनी पुल निर्माणको लागि वारिपारीको क्षेत्रमा जग्गा विवादले रोकिएको बताउनुभयो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी र जग्गा धनी सहित स्थानीय बसेर जग्गा विवाद सल्टिएको उहाँले बताउनुभयो ।

पुल निर्माण हुने स्थानमा पर्ने जग्गा धनीहरुसँग गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, इन्जिनियर सहितको टिम, जग्गाधनी, स्थानीय उपभोक्ता राजनीतिक ब्याक्तित्व, लगाएतको छलफलबाट जग्गा दिने सहमति भएपछि लामो समय सम्म रोकिएको झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माण भएपछि स्थानीयलाई आउजाउ गर्न सहज हुने छ । पुल नहुदा दुख पाएका स्थानीय पुल बन्ने भएपछि खुशी भएका छन ।

झोलुङ्गे पुल ८५ मिटर लम्बाईको एनटाइपमा निर्माण हुने मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्युठान इन्जिनियर रमेश कुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्तामा पुलको डिजाइन र लागत तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुलको डिजाइन र लागत तयार भएपछि पालिकामा टेन्डर प्रक्रिया हुने छ।” आवश्यक प्रक्रियाको लागि करिब ३ महिना जति समय लाग्ने इन्जिनियर शर्माले बताउनुभयो। माघ ८ गते उपभोक्त समिती गठनसंगै झोलुङ्गे पुलको डिटेल सर्भे सकिएको बताउनुभयो। मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्युठानको प्राबिधिक तथा सामाजिक सहजीकरण र झिमरुका गाउँपालिकाको समन्वयमा झोलुङ्गे पुल निर्माण हुने छ।

पुल निर्माणको लागि संघिय सरकारबाट ८५ प्रतिशत, गाउँपालिकाले १३ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत रकम साझेदारी रहने छ । पुल निर्माण गर्दा वारिपारीको जग्गा सुरक्षाको लागी आयोजना र गाउँपालिकाले आवश्यक बजेट ब्यवस्थापन गरि जग्गा सुरक्षा संरचना निर्माण गरिने सहमति भएसँगै पुल निर्माण बन्ने जग्गा उपलब्ध गराउने सहमति भएको स्थानीय सरत कवरले बताउनुभयो।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेलले जग्गा धनी स्थानीय बासी लगाएत सबैलाई धन्यवाद दिनुभएको छ । पुल निर्माण भएपछि वारीपारीको सम्बन्ध नजिक हुने र आउजाउमा सहज हुने बिश्वास लिएको अध्यक्ष एमसीले बताउनुभयो । सो क्षेत्रमा झोलुङ्गे पुल भएपनी निकै जिर्ण भएकोले स्थानीय जनता र बिद्यालय पढ्न आउने बालबालिकालाई सास्ती हुने गरेको जनगुनासोलाई स्थानीय सरकारले सम्बोधन गरेको अध्यक्ष एमसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय