दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर उँचो बनाएको बताउनु भएको हाे । उहाँले खेलकुदले अनुशासन सिकाउने, व्यक्तिलाई आत्मअनुशासित बनाउने र राष्ट्रप्रति बफादार नागरिक तयार पार्ने माध्यम भएको उल्लेख गर्नुभएकाे छ ।
खेलकुदमार्फत युवालाई सही मार्गमा ल्याउन सकिने धारणा उहाँकाे छ । उहाँले खेलकुदकाे माध्यमबाट आर्थिक गतिविधि बढ्ने र स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयाे ।`स्वास्थ्यका निम्ति खेल, राष्ट्रका निम्ति खेल´भन्ने भावनासहित सधैं स्वस्थ, अनुशासित र खुशी जीवनतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभयाे । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गाैतमकाे अध्यक्षता तथा मुख्यमन्त्री आचार्यकाे प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताकाे उद्घाटन गरिएको हाे ।
प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला तथा पुरुष टोली सहभागी भएका छन् । प्रत्येक टोलीमा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टोलीले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।
उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । प्रदेश खेलकुद परिषदका काेषाध्यक्ष मुक्तिप्रसाद न्याैपानेले सहजीकरण गर्नुभएको थियाे ।



S.K. Creative Media Group