रुकुम पूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय दृष्टिकोणले रुकुम पूर्व लुम्बिनी प्रदेशकै एउटा गहनाका रूपमा रहेको बताउनुभएको छ ।

रुकुम पूर्व जिल्ला अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका-१० स्थित तकसेरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके यहाँको आर्थिक अवस्था सुदृढ बन्ने र भविष्य उज्ज्वल हुने उल्लेख गर्नुभयो ।

उहाँले रुकुम पूर्वको प्राकृतिक सम्पदाको संरक्षणका लागि समुदाय र राज्यबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।`प्रकृतिले दिएका सम्पदाहरू यहाँका नागरिकको सम्पत्ति हुन् । प्रदेश सरकारले त्यसको संरक्षण र संवर्द्धन गर्नेछ । योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धन गरेर समुदायलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,´ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले सिस्ने र पुथा हिमाल जस्ता क्षेत्रको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको बताउनुभयो । रुकुम पूर्वमा करिब ७० प्रतिशत भूभाग राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने भएकाले यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो । साथै सिकार आरक्षण क्षेत्रले विदेशी पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सहिद मार्गको विस्तारसँगै दुर्गम क्षेत्रहरू क्रमशः सुगम बन्दै गएको उल्लेख गर्दै उहाँले यसले समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश राजधानी देउखुरीबाट बागलुङको बुर्तिबाङ हुँदै मध्यपहाडी लोकमार्गमार्फत यात्रा गर्दै रुकुम पूर्व पुग्नुभएका मुख्यमन्त्री आचार्यलाई भूमे गाउँपालिका-१ लुकुममा स्वागत गरिएको थियो । त्यसपछि पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय गाउँ तकसेरामा गाउँपालिकाले औपचारिक स्वागत गरेको हो ।

मुख्यमन्त्री आचार्य आज तकसेरामै बास बसेर भोलि जिल्ला सदरमुकाम रुकुमकोटमा निर्माण सम्पन्न भएको ५० शैयाको रुकुम पूर्व अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस भ्रमणमा मुख्यमन्त्री आचार्यसँगै स्वास्थ्य मन्त्री खेम सारू, रुकुम पूर्वबाट निर्वाचित प्रदेश सभा सदस्य सुरुल पुन र दिलकुमारी बुढा लगायतको टोली सहभागी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय