प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको औसत वित्तीय प्रगति ९१.३७ प्रतिशत गरेको छ । संघीय सरकारले स्थानीय तहको वित्तीय प्रणाली (सुत्र) बन्द गर्नुअघि नै गाउँपालिकाले विनियोजित बजेटअनुसारका योजना तथा कार्यक्रमको कार्यसम्पादन सम्पन्न गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालका अनुसार चालू खर्च तर्फ ९०.७७ र पुजिगत खर्च तर्फ ९२.५० प्रतिशत खर्च भएको छ । यसको औसतमा ९१.३७ प्रतिशत खर्च भएको उहाँले जानकारी दिनुभयो । पालिकाले चालू आर्थिक वर्षको लागि स्वीकृत गरेका चालू तथा पुजिगत तर्फका सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत सेजुवालले जानकारी दिनुभयो ।
यसपटक समयमै योजना कार्यान्वयन र भुक्तानी सम्पन्न भएकाले सुत्र बन्द हुनुअघि नै खर्च विवरण अन्तिम गरिएको आर्थिक प्रशासन शाखा प्रमुख अरबिन्द्र महतले जानकारी दिनुभयो । गतवर्ष भन्दा यस वर्ष समयमै काम सम्पन्न गरि भुक्तानीको लागि उपभोक्ता समिति सक्रियता देखिएकोले भुक्तानीमा सहज भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेजुवालले बजेट कार्यान्वयनमा सहयोग पु¥याउने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति तथा विकास साझेदार संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले सबै पक्षको सहयोग, समन्वय र सहकार्यका कारण विकास निर्माणका काम समयमै सम्पन्न गर्न सफल भएको बताउनुभयो । यसका लागि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग तथा योगदान गर्ने सबैप्रति कार्यालयको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो ।
स्थानीय तहमा प्रायः आर्थिक वर्षको अन्त्यतिर हतार हतारमा खर्च गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्ने गरे पनि झिमरुक गाउँपालिकाले भने योजना समयमै सम्पन्न गरेर खर्च व्यवस्थापन गरेको पालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी तथा अन्य विकास कार्यक्रमहरू निर्धारित समयमै सम्पन्न गरिएको जनाएको छ ।



S.K. Creative Media Group