प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले विद्यालयका शिक्षक, कर्मचारीलाई डिजिटल स्माट बोर्ड प्रयोग सम्बन्धि दुई दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दिएको उक्त तालिमको सोमबार समापन गरिएको हो ।

तालिमको समापन कार्यक्रमको अवसरमा बिद्यालयका शिक्षक शिक्षिकालाई सीपसँगै बिद्यालयमा १ करोड ४४ लाख ७ हजार ५ सय बराबरको लागतमा ५८ वटा स्माट बोर्ड र ६३ वटा ल्यापटप वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।

बिद्यालयलाई परम्परागत चक र डस्टर प्रयोग गर्ने परिपाटीलाई विस्थापन गर्दै बिद्यालयलाई आधुनिक प्रविधिमैत्री शिक्षण-सिकाइ बनाउने उदेश्यले यो तालिम संचालन गरिएको शिक्षा शाखा प्रमुख पुष्प रानाले बताउनुभयो ।

उहाँका अनुसार तालिमबाट पालिकाका सबै बिद्यालयका विद्यार्थी र शिक्षकलाई डिजिटल सीप, ईन्टरनेट प्रयोग, इ-बुक, श्रव्य, दृश्य, आधुनिक उपकरण प्रयोग, लगायत संचालनमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ ।

 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले समय अनुसार बिद्यालयलाई प्रविधिमैत्री बनाउदै शिक्षकहरुलाई डिजिटल सीपको प्रयोगको माध्यमबाट विद्यार्थी सिकाइलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले युग र समय सापेक्ष बिद्यालयहरुले प्रशासनिक कार्य र लगायत अनलाइन परिक्षा, उत्तर पुस्तिका मुल्यांकन, सबै प्रकारका डाटाहरु व्यवस्थापनलाई सहज बनाइ ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोडेर शिक्षामा पहुँच बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको तालिमा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई डिजिटल स्माट बोर्ड को प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिएको शिक्षा शाखा प्रमुख रानाको भनाइ छ।

समापन कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु लगाएतको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण सहायक कम्प्युटर अधिकृत यज्ञ प्रसाद यरी र शिक्षक शेरचन्द्र केसीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख रानाले गर्नुभएको थियो ।

शिक्षकलाई सीपसँगै बिद्यालयमा १ करोड ४४ लाख बराबरको स्माट बोर्ड र ल्यापटप वितरण

झिमरुक गाउँपालिकाले सामुदायिक बिद्यालयका शिक्षकलाई गाउँपालिकाले सीपसँगै बिद्यालयमा १ करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँको लागतमा ५८ वटा स्मार्ट बोर्ड र ६३ वटा ल्यापटप खरिद वितरण वितरण समेत गरेको छ ।

माध्यमिक बिद्यालय (१-१२) सम्मका ६ वटा बिद्यालयलाई स्मार्ट बोर्ड ३० वटा र ल्यापटप २० वटा वितरण गरिएको पालिकाले जनाएको छ । माध्यमिक बिद्यालय (१-१०) सम्मका ६ वटा बिद्यालयलाई स्मार्ट बोर्ड १८ वटा र ल्यापटप १२ वटा वितरण गरिएको छ ।

त्यस्तै आधारभुत बिद्यालय (१-८) सम्मका ५ वटा बिद्यालयलाई स्मार्ट बोर्ड १० वटा र ल्यापटप ५ वटा प्रदान गरिएको शाखा प्रमुख रानाले जानकारी दिनुभयो । उहाँका अनुसार आधारभुत बिद्यालय (१-५) सम्मका २६ वटा बिद्यालयलाई ल्यापटप २६ वटा हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

संघीय सरकारबाट हस्तान्तरित विषेश अनुदान अन्तर्गत सामुदायिक बिद्यालयहरुमा आई.सि.टि. सिकाइ पुर्वाधार निर्माणका लागि स्मार्ट बोर्ड र ल्यापटप व्यवस्थापनको लागि १ करोड १२ लाख र पालिकाको ३२ लाख ७ हजार ५ सय रुपैया बजेट गरि कुल १ करोड ४४ लाख ७ हजार ५ सय रुपैया रकम बिनियोजन भएको थियो । सोही बजेटबाट पालिकाले ५८ वटा स्मार्ट बोर्ड र ६३ वटा ल्यापटप खरिद गरेर वितरणबाट गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय