प्युठान । देशैभरका मगर समुदायले ४४औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको प्युठानका पालिकाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, भेषभुसा सहिर सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।
मगर दिवस कार्यक्रमलाई मध्येनजर गरि प्युठानमा रहेका नौवटै पालिकाले फागुन १५ गते अर्थात आज शुक्रबार सार्बजनिक बिदा दिने निर्णय गरेका छन् । स्थानीय बिदाबाट कट्टी हुने गरि बिदा दिएको सुचनामा उल्लेख छ । गाउँकार्यपालिकाको वैठक निर्णय अनुसार सबै पालिकाले बिदा दिएको जनाएका छन् ।
बिदाको दिन पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) बाट प्रदान गरिने सेवाहरु बन्द हुनेछन ।
देशभरका मगर जातिको हक अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।
त्यस्तै राष्ट्रिय मगर एकता दिवस अवसरमा सरुनारानी गाउँपालिकाको बड्ढाडामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार गायक बद्री पंगेनी सहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ ।



S.K. Creative Media Group