प्यूठान । सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था Meta ले नेपाललाई फेसबुक मोनिटाइजेशन योग्य देशको सूचीमा समावेश गरेसँगै नेपाली प्रयोगकर्तामा उत्साह थपिएको छ । पछिल्लो समय धेरैले फेसबुकका मापदण्ड पूरा गरी आफ्ना पेज तथा कन्टेन्टलाई मोनिटाइज गरी आम्दानी लिन थालेका छन् भने कतिपय उक्त लक्ष्य प्राप्तिको यात्रामा अग्रसर छन् ।

यद्यपि, पर्याप्त जानकारी र प्राविधिक मार्गदर्शनको अभावमा धेरै प्रयोगकर्ता अझै अन्योलमा देखिन्छन् । यही समस्यालाई समाधान गर्न अमेरिकामा बसोबास गर्दै आएका केदार तिमल्सेनाले नेपाली प्रयोगकर्तालाई निःशुल्क परामर्श तथा सहजीकरण गर्दै आउनुभएको छ । आईटी इन्जिनियर तिमल्सेनाले पछिल्लो चार महिनादेखि नियमित फेसबुक लाइभ, अनलाइन सेसन तथा समुह (ग्रुप) मार्फत मोनिटाइजेशनसम्बन्धी जानकारी प्रदान गर्दै आउनुभएको छ ।

 

उहाँका अनुसार सुरुमा व्यक्तिगत रूपमा सहयोग गर्दै आए पनि पछिल्लो समय व्यवस्थित रूपमा ग्रुप सञ्चालन गरी सामूहिक सहकार्य अगाडि बढाइएको हो । “दुई वर्षअघिदेखि व्यक्तिगत रूपमा फेसबुक मोनिटाइजेशनका लागि सहयोग गर्दै आएको थिएँ,” तिमिल्सिनाले भन्नुभयो, “तर पछिल्लो केही महिनादेखि सक्रिय रूपमा समूह बनाएर सबैलाई एकै ठाउँमा जोड्ने प्रयास गरिरहेको छु ।”

 

हाल उहाँको पहलमा नेपालका ७५ जिल्ला तथा विश्वका करिब २० देशमा बसोबास गर्ने नेपालीहरूबीच अनुभव आदानप्रदान, समस्या समाधान र सफलताका कथा साझा गर्ने क्रम जारी छ । तिमल्सिनाको मुख्य उद्देश्य फेसबुकलाई मनोरञ्जनको माध्यम मात्र नभई आम्दानीको भरपर्दो स्रोतका रूपमा स्थापित गर्नु रहेको छ ।

 

“७७ वटै जिल्लाका मानिसले फेसबुक मोनिटाइजेशनबारे जानकारी पाऊन् भन्ने चाहना छ,” उहाँले भन्नुभयो, “विशेषगरी घरमै बस्ने गृहणीहरूले समेत मासिक रूपमा आम्दानी गर्न सकून् भन्ने मेरो उद्देश्य हो ।” उहाँका अनुसार सही रणनीति, मौलिक कन्टेन्ट र मापदण्डअनुसारको प्रक्रिया पूरा गरेमा फेसबुकबाट नियमित आम्दानी सम्भव छ ।

 

“घरको गुजारा चलाउन समस्या भएका व्यक्तिलाई समेत यसबाट सहयोग पुग्न सक्छ,” उहाँले थप्नुभयो, “हामीले फेसबुकलाई सही सदुपयोग गरेर आर्थिक सशक्तिकरणको माध्यम बनाउन सक्छौं ।” डिजिटल युगमा प्रविधिको सदुपयोग गर्दै नेपालीहरूलाई आत्मनिर्भर बनाउने अभियानमा केदार तिमल्सिनाको पहल प्रेरणादायी बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय