काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार सबै हिसाबले असफल भएको बताउनुभएको छ । इतिहासमै सबैभन्दा अयोग्य अहिलेको गठबन्धनको सरकार साबित भएको टिप्पणी गर्नुभयो । नेकपा एमाले  राष्ट्रिय हितका प्रश्न र जनसरोकारका सवालमा सरकारका विरुद्ध सशक्त आवाज उठाउने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले देश र जनताको हित विरुद्धका क्रियाकलाप अब नेकपा एमालेले टुलुटुलु हरेर बस्न नसक्ने बताउनुभयो। एमाले अब मिसन २०८४ मात्रै भनेर नबस्ने पोखरेलले प्रष्ट पार्नुभयो ।

पोखरेलले वर्तमान सरकारको भ्रष्टाचार, तस्करी, कालोबजारी विरुद्ध जनपरिचालनको काममा उत्रिन अनेरास्ववियुलाई आग्रह गर्नुभयो । ‘हरेक हिसाबले यो सरकार असफल छ, इतिहासमा यति अयोग्य सरकार थिएन, यसका विरुद्धको आवाज सशक्त भएन भने अनेरास्ववियुको औचित्य पुष्टि हुन सक्दैन’, उहाँले भन्नुभयो ।

मुलुकलाई सही बाटोमा अघि बढाउने हो भने राजनीतिमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने उहाँले बताउनुभयो । पोखरेलले जसले जानेको ज्ञानलाई व्यवहारमा लागु गर्दछ त्यो नै क्रान्तिकारी हुने बताउनुभयो । कुरा एउटा गर्ने काम अर्को गर्नेहरू जाली र अवसरवादी हुने पोखरेलको भनाइ छ । समाज परिवर्तनका लागि ज्ञानलाई व्यवहारमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘वास्तवमा क्रान्तिकारी त्यो हो, जसले जानेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दछ’, पोखरेलले भन्नुभयो ।

शास्त्रमा लेखिएको ज्ञानले मात्र समाज नबदलिने पोखरेलले बताउनुभयो । ‘जीवनसँग नजोडिने सिद्धान्त मरेतुल्य हुन्छ, यसलाई अर्को अर्थमा पनि लिन सकिन्छ, व्यवहार बिनाको ज्ञानको कुनै अर्थ छैन’, उहाँले भन्नुभयो ।
पोखरेलले वैचारिक र राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने बताउनुभयो । ‘जब हामी वैचारिक र राजनीतिक काम कम गर्दछौँ, अवसरवाद मौलाउँदै जान्छ’, पोखरेलले भन्नुभयो ।

नेपालको शासन व्यवस्थामा देखिएको समस्या समाधान गर्ने काम नेकपा एमालेले मात्र गर्न सक्ने पोखरेलले बताउनुभयो । एमालले छोटो समय देश सञ्चालन गर्दै तिव्रतर देश विकासको काम गरेको उहाँले स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय