काठमाडौं । सातै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मतगणना सुरु भएको ३/४ घण्टाभित्रै परिणाम सार्वजनिक भइसक्छ ।

राष्ट्रियसभा सदस्यमध्ये एक तिहाई सदस्यहरूको पदावधि प्रत्येक २/२ वर्षमा समापन हुन्छ । त्यसरी पदावदि सकिएका राष्ट्रियसभा सदस्यको रिक्त पदमा प्रक्रियाबाट उनीहरू राष्ट्रियसभा सदस्य बनेका हुन् सोही प्रक्रियाबाट पूर्ति गरिन्छ ।

अहिले राष्ट्रियसभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटमा निर्वाचन हुन लागेको हो । एक सिट भने राष्ट्रपतिबाट मनोनित हुने प्रावधान छ । सो सिटको पनि समय सकिएकाले उक्त सिटको लागि राष्ट्रपतिबाटै मनोनित गरिनेछ ।

आज हुने मतदानमा विभिन्न आठ राजनीतिक दलले ५१ उम्मेदवारलाई मैदानमा उतारेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । अहिले कुल २ हजार ४७ मतदाता रहेकामा उनीहरूको जम्मा मतभार ५७ हजार ५५९ छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार तोकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय