प्यूठान । १७ वर्ष अघि भएको कर्तव्य ज्यान मुद्धामा प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको छ । साविक हंसपुर गाविस हाल सरुमारानी गाउँपालिका ४ ओखरडाँडा निवासी ३० वर्षीय हरि थापाको कुटपिटपछि मृत्यु भएको घटनाको मुद्धामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको हो ।
स्थानीय ६७ वर्षीया हुमी कुमारी देवी सारुलाई बैशाख २ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ४८ वर्षीया पुतलीदेवी नेपाली, ३८ वर्षीया झविसरा पुलामीलाई बैशाख १० गते पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।
अन्य अभियुक्त ५३ वर्षीया निमिसरा राना, ४३ वर्षीया तारा बहादुर सारु फरार रहेको र ५३ वर्षीया हुमी कुमारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हरिकलाले श्रीमान भारत गएको १४ महिनामा छोरा जन्माएपछि गाउँका मानिसले अवैध सम्बन्धबाट छोरा जन्माएको भनि २०६३ असोज ५ गते कुटपिट गरेका थिए ।
कुटपिटबाट घाईते हरिकलाको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा असोज १२ गते मृत्यु भएको थियो । हरिकलाबाट जन्मिएको नवजात शिसुको समेत जन्मिएको ५ दिनमा मृत्यु भएको थियो । अभियुक्तहरुलाई पक्राउ गरि प्यूठान जिल्ला अदालतमा पेश गरिएको र अदालती प्रक्रियामा रहेको प्रहरी प्रमुख थापाले जानकारी दिुनभयो ।



S.K. Creative Media Group