प्यूठान। प्यूठान नगरपालिका–३, विजयनगरको आयोजनामा प्यूठान जिल्लाभित्रका स्थानीय तहबीच अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

गणतान्त्रिक खेलमैदानमा कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १२ गते दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँसहित कप प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५० हजार रुपैयाँसहित कप पाउनेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, लिब्रो र सर्भरलाई जनही एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकको भनाइ रहेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने दुई हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा एक जना व्यवस्थापकसहित नौ जना खेलाडी हुनुपर्ने व्यवस्था गरिएको छ। खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्नेछ भने सम्बन्धित पालिकाको परिचय खुल्ने कागजातसमेत पेस गर्नुपर्नेछ। प्रतियोगिताका खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) का नियमअनुसार सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

खेलकुदको विकास, स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्यूठान नगरपालिका–३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभयो।

प्रतियोगिताले जिल्लाभित्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय तहबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय