
पार्वता आचार्य
मानवका रुपमा सृष्टिमा समान उपज भएपनि दृष्टिमा अझैपनि बिभेद र उपेक्षीत मानिने महिलाहरुको अधिकारका लागि आवाज उठान गरिएको दिन ८ मार्चलाई बिश्वका आम महिलाहरुले स्मरण गर्ने महत्वपुर्ण दिन मानिन्छ । सन् १८५७ मा अमेरिकाको गार्मेण्ट कारखानामा काम गर्ने श्रमिक महिलाहरूले निश्चित कार्यघण्टा, समान कामको समान ज्याला, मातृशिशुको अधिकार, महिला मजदुरलाई ट्रेड युनियनको अधिकार लगाएतका माग सहित गरेको प्रदर्शनले आन्दोलनको अन्तराष्ट्रिय रुप लिएको पाइन्छ । सन १९१० मा जर्मन निवासी समाजवादी महिला नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउन प्रस्ताव गरी सर्ब सम्मतले पारित भएकोले सन १९११ देखि यो दिवस मनाउन थालिएको हो । बिश्वमा प्रत्येक बर्ष मनाइने उक्त दिवसले हरेक ब्यक्ति, समाज, राज्य लगायत सबै सरोकारवालाहरुलाई समानता, सामाजिक न्याय र स्वतन्त्रता प्रत्याभुतका लागि ध्यान आकृष्ट गर्ने गर्दछ । महिला अधिकार समग्रमा मानबअधिकार हो, यद्यपी मानबअधिकारले समेट्न नसकेका महिलाका केही महत्वपूर्ण आबश्यकताहरुलाई बिशेष अधिकारको रुपमा प्रदान गरिएका अधिकारहरुलाई महिला मानबअधिकार भन्ने गरिन्छ । अधिकांस मुलुकहरुमा हुने आन्तरीक तथा दुइ देश बिचको द्धन्द्धका क्रममा युद्ध जित्ने वा विपक्षीलाई हराउने हतियारको रुपमा समेत महिलालाई उपयोग गरेको पाइन्छ जस्तै महिला माथि गरिने यौनजन्य दुरब्यबहारहरु । यसरी बिभिन्न बहानामा महिलाको आफ्नो शरिर समेत आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था सृजना गरिएको हुन्छ । यो सरासर महिला माथि गरिएको बिभेद र अन्याय हो ।
सुचना संचार तथा प्रबिधिको बिकास संगै भएको आधुनिककालको बिकासले विश्वभरका महिलाहरु बिभिन्न खाले विभेद तथा हिंसाको शिकार बन्न पुगेको पाइन्छ । लैंगिक समानता र आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तराष्ट्रीय रुपमै महिलाहरुले सड्घर्ष गरेको शताब्दी भईसक्दा पनि महिला भएकै कारण लिंगका आधारमा हुने बिभेद, हिंसा तथा अपमानजनक ब्यबहारहरु अपेक्षीत रुपमा कम हुन सकेको छैन । विश्वमा बढ्दै गएको औद्योगिकरण तथा नव उदारबाद अर्थतन्त्रले बर्ग बिभाजन गरी पुजीपति बर्ग र श्रमजिवी बर्ग बिचको खाडल झन झन बढाई रहेको छ भने अर्को तर्फ महिलाले गर्ने घरायसी श्रमको मुल्यमा गणना नहुदा महिलाहरुलाई झन बढी परनिर्भर बनाईरहेको छ । लैंगिक रुपले एक आपसमा सह अस्तित्व निर्माण र श्रमको उचीत मुल्य प्राप्तीका लागि बिश्वकै महिलाहरुबाट थालनी गरिएको संघर्षबाट नै अन्तराष्ट्रीय महिला आन्दोलनको पृष्ठभुमि बनेको हो । अन्तराष्ट्रिय महिला आन्दोलनलाई पच्छाउदै नेपाली महिलाहरुले पनि नेपालमा आफ्नो अधिकार सुनिश्चितताका लागि बिभिन्न स्वरुप तथा पकृतिका महिला आन्दोलनहरु गर्दै आएको इतिहास साक्षी छ ।
नेपालको सन्दर्भमा नेपाली महिलाहरुको स्वतन्त्रता आन्दोलनको आफ्नै गौरवमय इतिहास छ । नेपालमा महिलाबादी आन्दोलनको शुरुवात सन १८७० को दशक देखि नै शुरु भएको तथ्यहरु भेट्न सकिन्छ । बि.सं. १८७१।०७२ मा बेलायती उपनिबेशवाद बिरुद्ध राष्ट्र जोगाउन नालापानी युद्ध लडाइमा महिला र पुरुष दुबैले राष्ट्रबादी भावना राखी संगै लडाइमा होमिएका थिए । नेपाली महिलाहरुको आर्थिक तथा राजनैतिक अधिकार माग गर्दै आन्दोलन गर्ने महिलाहरुमा दिब्या कोइराला र योगमाया न्यौपानेको नाम अग्रपक्तिमा आउछ । बि.स. २००३ सालमा बिराटनगरमा भएको श्रमिक आन्दोलनले मातृत्व सुरक्षा र शिशु स्याहार केन्द्रको माग उठाइएको थियो । त्यसैगरी बि.सं. २००७, २०३६, २०४६, २०६२/०६३ आदी समयमा भएका निर्णायक राजनैतिक आन्दोलनमा महिलाको सकृय तथा निर्णायक सहभागिता रहेको पाइन्छ ।
देशमा लोकतान्त्रीक गणतन्त्रको स्थापना भई नेपालको संबिधान २०७२ लगायत बिभिन्न ऐन, नियम, कार्ययोजनाहरु र अन्तराष्ट्रिय कानुनहरुमा हस्ताक्षर गरी प्रतिबद्धता गरेको भएपनि महिलाले सहज रुपमा न्याय पाउन सकिरहेका छैनन् । १८ औं शताब्दीबाट शुरुवात भएको श्रमिक महिलाको अधिकारको आन्दोलन २१औं शताब्दी सम्म आइपुग्दा पनि नेपालमा महिलाहरूले आफ्नो पूर्ण अधिकार उपभोग गर्न पाएको अबस्था छैन । पितृसतात्मक सामन्तबादी सोंच र परम्परागत मुल्यमान्यता र पुँजीबादी अर्थ ब्यबस्था समानताको बाधक बनेका छन् । कानुनले राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको भएतापनि घरायसी भूमिकामा समर्पित तथा घरभित्र सिमित आम नेपाली महिलाहरु देशको आर्थिक तथा राजनैतिक क्षेत्रमा निकै पछाडी रहेको यथार्थता हाम्रो सामु जगजाहेर छ । अंकमा गराइएको सहभागितालाई ब्यबहारमा अर्थपुर्ण बनाउनका लागि यी र यस प्रकारका दिवसहरुले महत्वपुर्ण सन्देश प्रबाह गर्ने बिश्वास गरिन्छ ।
यस बर्ष मनाउदै गरेको ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइ रहदा पनि हाम्रा छोरीहरु तथा दिदी बहिनीले भोगेका कहाली लाग्दा हिंंसाका घट्नाहरुले मन पिरोलीरहन्छ । यही मिति २०८० फागुन १२ गते चितवन जिल्लाको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतन बिद्यालयका कक्षा ८ मा अध्ययनरत १३ बर्षिय बालिका शालिन पोख्रेल सोही बिद्यालयबाट संचालित होस्टलमा मृत भेटीएको दुखद घट्ना साथै बिगतमा घटेका घट्नाका पिडित निर्मला, भागिरथी जस्ता बालिकाहरुले अहिले सम्म पनि न्याय पाउन नसकिरहेको अवस्थाले न्याय हराएको अनुभुति गराउछ ।
यस बर्षको ८ मार्चको लागि तय गरिएको “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” नामक मुल नाराले परिवार, समाज, राजनीतिक दल, राज्य लगायत सबै क्षेत्रलाई लैंगिक उत्तरदायी बनाउन संकेत गरेको छ । महिलाको घरेलु श्रमको उचीत मुल्यांकन, राज्यका हरेक तहमा समानुपातिक सहभागिता र सबै खाले बिभेद तथा हिंसाको अन्त्य गर्न सकेमा मात्र समानतामा आधारीत समुन्नत समाज निर्माण गर्न सकिन्छ । यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसले राज्य लगायत सबै सरोकारवालाहरुलाई महिलामा लगानी गर्न प्रेरीत गर्न सकोस भन्ने शुभकामना दिन चाहान्छु । धन्यबाद