काली बहादुर केसीको स्मृतिमा सहकारीलाई परिवारबाट नि:शुल्क जग्गा प्रदान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण ।

माया गिरी, प्युठान । लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मि श्रेष्ठले सहकारी संस्थालाई सबल, सक्षम बनाउदै आफ्ना सदस्य र किसानलाई समस्या पर्दा सहकारी संस्था सहयोगी बन्नुपर्ने बताउनुभयो ।

प्युठान नगरपालिका-९ गुरिगाउँ स्थित दीर्घायु कृषि सहकारी संस्था लिमिटेडको १० औं साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

शनिबार फुलबारीमा आयोजित सहकारी संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सहकारीलाई चुस्त दुरुस्त बनाउदै अगाडि पढ्न सबैलाई आग्रह गर्नुभयो । सरकारले कृर्षिलाई प्राथमिकता दिएको भनेपनी पर्याप्त बजेट अभावमा किसानका तमाम समस्या हल हुन सकेको छैन ।

त्यसको लागि सबै सरकारले किसानको मर्म अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले किसान अब निर्वाहमुखी होईन आत्मनिर्भर बन्न सामुहिक कृर्षिप्रणाली अपनाउनु पर्ने बताउनुभयो । श्रेष्ठले सहकारी संस्था डुब्न नदिन शेयर सदस्यहरुको सकरात्मक खबरदारी गर्दै अगाडि बढ्न सनेत आग्रह गर्नुभयो । त्यसको लागि शेयर सदस्यहरुको रचनात्मक सहयोग सल्लाह र सुझाव जरुरी रहेको बताउनुभयो ।

यस्तै कार्यक्रमका बिशेष अतिथि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका कार्यालय प्रमुख चुमान सिंह गिरीले किसानसँग जोडिएका सहकारी संस्थाले किसानको मर्म र भावना अनुसार काम गर्नुपर्ने बताउनुभयो । सहकारीले व्यवसायिक कार्ययोजना बनाएर किसानलाई लक्ष्यित हुने गरि काम गर्न आग्रह गर्नुभयो । किसान आत्मनिर्भर नभएसम्म सहकारी र मुलुक समृद्ध हुन नसक्ने भन्दै यस तर्फ ध्यान दिन गिरीले आग्रह गर्नुभयो ।

प्रमुख गिरीका अनुसार आफ्नो कार्यालयले सिँचाई कुलो निर्माण, बिउ मल वितरण, यान्त्रिक उपकरण वितरण लगायत साना योजनाहरूमा आवस्यक सहयोग समन्वय गर्दै आएको बताउनुभयो । उहाँले सहकारीलाई व्यवसायिक रूपमा उत्पादन गर्दै अगाडि बढाउनका लागि सबै सदस्यहरूले एकजुट भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

त्यस्तै प्युठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास केसीले दीर्घायु कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा उल्लेखनीय योगदान गरेकोले प्रशंसा गर्नुभएको छ। उहाँले सहकारीका सदस्यहरूलाई अझ सक्रिय र सजग भएर काम गर्न प्रेरित गर्नुभयो। उहाँका अनुसार स्थानीय सहकारी र कृषि समूहहरूले मिलेर काम गर्दा उत्पादनको गुणस्तर, बजार पहुँच र आम्दानीमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।देशको संमृद्धिका लागि सहकारीको मुख्य भूमिका रहने पनि उहाँले बताउनुभयो ।

दिर्घायु कृषि सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र केसीकाे अध्यक्षतामा सम्पन्न भयकाे साधारण सभामा प्रगति प्रतिबेदन सचिव ढुण्डीराज पोख्रेल र आर्थिक प्रतिबेदन राजेन्द्र जिसीले प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा यस क्षेत्रमा लुम्बिनी प्रदेशबाट सञ्चालित सिंचाई आयोजनाको अनुगमन निरीक्षण गरिएको थियो ।

कालीबहादुर केसीको स्मृतिमा सहकारीलाई परिवारबाट नि:शुल्क जग्गा प्रदान

दीर्घायु कृषि सहकारी संस्थाले आफ्नै भवन निर्माणका लागि संस्थाका संस्थापक शेयर सदस्य स्वर्गीय कालीबहादुर केसीको सम्झनामा सहकारी संस्थालाई भवन निर्माणका लागि उहाँको धर्मपत्नी कमला केसी र छोराहरू जोगेन्द्र केसी र विकास केसीले जग्गा दिने घोषणा गर्नुभएको छ ।

प्युठान नगरपालिका-९, बाजाबारी स्थित मुख्य सडकसँग जोडिएको आवश्यक जग्गा सहकारीको नाममा गरिदिने घोषणा गर्नुभएको सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिनुभयो । यो कदमले सहकारी संस्थाको भौतिक पुर्वाधार विकासमा नयाँ आयाम थपेकोले अध्यक्ष केसीले उहाँहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

संस्थाका संस्थापक कालीबहादुर केसीको योगदानलाई सम्झने र उहाँले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। काली बहादुर केसीको नाममा शुरु भएको यो पहल केवल भवन निर्माण मात्र नभएर स्थानीय कृषक समुदाय र युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देखाएको मार्गमा हामी सधैं अगाडि हिँड्नेछौं। उहाँका सपनाहरू पूरा गर्न सहकारीको नेतृत्व निरन्तर अगाडि बढ्ने बताउनुभयो । यसैबीच कार्यक्रमका अबसरमा दर्जन बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय