मित्र थापा
गौमुखी । ९० वर्षका एक वृद्ध बा लठ्ठीको सहारामा हरेक दिन बिहान बेलुकी एक पटक पुलको नजिकै आएर लामो सुस्केरा फेर्छन् । पुलमा काम गरिरहेका कामदारको काम गर्ने तरीका हेर्छन्। अनि मनमनै भन्छन् सरकारले आँट्यो भने विकास गर्न कुनै कुराको पनि सम्भव छ ।
बन्दै गरेको पुललाई एकहोरो टोलाएर फेरि कल्पना गर्छन् । पुल निर्माण भएमा मेला पर्वमा खोला पारी विवाह भएको छोरीलाई आफ्नो घर ( माइत) आउन ३ देखि ४ घण्टा लाग्थ्यो अब भने दुई ढाई घण्टामै आउन सकिने छ । उहाँ हो गौमुखी गाउँपालिका- १ अर्खा निवासी तुल बहादुर थापा ।
“बाग्लुङ जिल्लामा लामो र अग्लो पुल बनेको छ भन्ने सुनेको थिएँ तर अब आफ्नै घर नजिक यति लामो र अग्लो पुल बन्न लागेको देखेर खुसी लाग्यो,” उहाँले भन्नुभयो ।
प्यूठान जिल्लाको गौमुखी गाउँपालिकामा अर्खा र रजवारा गाउँलाई जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य २०८२ सालको मंसिर महिनामा भित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालकै गतिमा काम गर्दा जेठ महिना भित्र सम्पन्न हुने भएको छ । यो पुल (लामिडाँडा-देउराली) ३६५ मिटर लामो र १८० मिटर अग्लो हुनेछ । जसले स्थानीयवासीहरूको आवतजावतलाई सहज बनाउने छ ।
यो पुलको शिलान्यास संघीय सांसद सूर्य थापाले २०८१ सालको मंसिर १३ गते गर्नुभएको थियो । पुल निर्माणको ठेक्का २ करोड ७२ लाख ७४ हजार रुपैयाँमा अपर तामाकोसी जेभीले पाएको हो ।
पुलको निर्माणले गाउँका सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याएको मात्र होइन, पर्यटन प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ । स्थानीयवासीहरूको अपेक्षाअनुसार यो पुलले गाउँको सामाजिक र आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।



S.K. Creative Media Group