प्यूठान । ऐरावती गाउपालिका-२ लामीदमारका किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । लामीदमार स्वाबलम्बी समुहका २३ घरलाई ५० वटा उच्च नश्लका बाख्रा उपहार प्रदान गरिएको हो ।
गाँउपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता परीयोजना अन्तर्गत समुहलाई बाख्रा प्रदान गरीएको परीयोजना संयोजक नेत्र मरासिनीले बताउनुभयो ।
ऐरावती गाँउपालिका क्षेत्रमा बाख्रा पालनको प्रसस्त सम्भावना रहेकोले उच्च नश्लका बाख्रा बितरण पश्चात बाख्राको उत्पादकत्व बृद्धि गर्ने उदेश्यले बाख्रा बितरण गरीएको हो ।
गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पालिका भित्र कृषि तथा पशुपालनलाई ब्याबसायिक बनाउने उदेश्यले परियोजना संचालन गरिएको बताउनुभयो । यसअघि पनि अरु समुहमा उच्च नश्लका बाख्रा तथा बोका वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले २/४ वटा बाख्राबाटै नियमित आयआर्जन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो । “प्रोजेक्टको बाख्रा हो भन्ने पनि गर्ने गरेको बिगतको तितो अवस्था थियो,” उहाँले भन्नुभयो, “त्यस्तो सोचमा अहिले अबश्य परिवर्तन आएको छ ।”
पालिकाले गरेको लगानीको सदुपयोग गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष भिमेश घर्तिमगरले परियोजना मार्फत संचालन भएको आधारशिला तालिम, बाख्रापालन तालिम, आधुनिक खोर निर्माण लगायतका काम भएको बताउनुभयो । उहाँले बाख्रामा केहि रोग समस्या देखिए प्राविधिक सहयोगका लागि वडा र पालिका तयार रहेको बताउनुभयो ।
समुहका अध्यक्ष साबित्रा बाकबलले परियोजना मार्फत महिलाहरू आयाआर्जनमा जोडिन थालेको बताउनुभयो ।



S.K. Creative Media Group