प्यूठान । झिमरुक गाउँपालिका-५, स्थित ओखरकोटमा चोयाचित्रा सम्बन्धि एक महिने तालिम समापन गरिएको छ। बुधबार उद्यमीलाई प्रवर्दन गर्न र आय आर्जनमा जोड्ने उदेश्यले सञ्चालित तालिमको एक कार्यक्रमका बीच समापन गरिएको हो ।

एक महिने तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्थानीय स्तरमा रहेका उद्यमीहरुलाई स्वरोजगार बनाउन यो तालिमले सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका अध्यक्ष एमसीले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्न सकेमात्र सफल उद्यमी बन्न सकिने बताउनुभयो । यस प्रकारको उद्योगलाई गाउँपालिकाले सहयोग गर्दै उद्यमीलाई थप हौसला प्रदान गर्दै आएको बताउनुभयो । स्थानीय स्तरमा उत्पादित बस्तु तथा सामाग्रीलाई बजारीकरणमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

ओखरकोट चोयाचित्रा उद्योग द्वारा सञ्चालित चोयाचित्रा सम्बन्धि उद्यमशीलता प्रवर्दन कार्यक्रम अन्तर्गत सजावटका सामाग्री, डोका, मान्द्रो, सुपो मोबाइल स्ट्यान्ड, हाते पंखा, मुढा, बाँसको कुर्सी, टेबुल, बेदबाँसको कुर्सी टेबुल र्याक, जुत्ता स्ट्यान्ड जस्ता सामाग्री उत्पादन गर्दै आएको छ। उत्पादित सामाग्री बुटवल तथा जिल्लाका स्थानीय बजारमा बिक्रीवितरण गर्दै आएको ओखरकोट चोयाचित्रा उद्योग अध्यक्ष दल बहादुर जिसी जानकारी दिनुभयो ।

ओखरकोट चोयाचित्रा उद्योगले सामाग्री उत्पादन तथा बिक्रीवितरणबाट करिब १ लाख ५० हजार बार्षिक आम्दानी गर्दै आएको जिसीले जानकारी दिनुभयो । सामाग्री निर्माण गर्न स्थानीय स्तरमा रहेका बाँस, बेदबाँस लगायतका कच्चापदार्थ प्रयोग गर्दै आएको छ । स्थानीय स्तरमा रहेका कच्चापदार्थ गुणस्तरीय नभएको र महँगो पर्ने भएकोले समस्या भएको अध्यक्ष जिसीले बताउनुभयो ।

२०८० सालमा स्थापना गरिएको ओखरकोट चोयाचित्रा उद्योगले गतवर्ष २२ जना उद्यमीलाई सीप दिएको थियो भने यस आर्थिक वर्षमा ३२ जना उद्यमीलाई तालिम दिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । उद्योगमा ५ जनाले नियमित पारिश्रमिक लिएर काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

ओखरकोट चोयाचित्रा उद्योगलाई संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गर्दै आएको छ । स्थानीय जनतालाई उद्यमशीलतामा जोड्न र आय आर्जन वृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले स्थापना गरिएको हो । यस उद्योगलाई थप व्यवस्थित गर्न सबै सरकारले लगानीको दायरा फराकिलो बनाउनपर्ने जिसीले बताउनुभयो ।

ओखरकोट चोयाचित्रा उद्योगका अध्यक्ष दल बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल, वडा सदस्यहरु,  उद्यमी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय