सुजल श्रेष्ठ
प्यूठान । ऐरावती गाउँपालिकाको पहुँचमार्ग अर्न्तगत कैरन–पकला सडकको काम निर्धारित समय भन्दा ६ महिना अघि सम्पन्न भयो । ६ किलोमिटर सडक कालोपत्रेको काम आशु/हरियाली जेभीले सम्झौता अवधिभन्दा पहिले नै सम्पन्न गरेपछि सडक पुर्वाधार कार्यालय प्यूठानले निर्माण व्यवसायी बालाजु श्रेष्ठलाई सम्मान गरेको छ ।
आईतबार सदरमुकाम खलंगा स्थित कार्यालयमा निमित्त कार्यालय प्रमुख चन्द्र बहादुर शाहले दोसल्ला र कदर पत्र सहित निर्माण व्यवसायी श्रेष्ठलाई सम्मान गर्नुभएको हो । “यस कार्यले तपाईको फर्मले कार्य कुशलतामा उत्कृष्ट व्यवस्थापन क्षमता तथा समयमै गुणस्तरीय कार्य सम्पन्न गर्ने प्रतिवद्धतालाई प्रमाणित गरेको छ,” कदर पत्रमा भनिएको छ,“तपाईको यो प्रयास अन्य निर्माण व्यवसायीको लागि पनि अनुकरणीय रहनेछ ।”
निर्माण व्यवसायी श्रेष्ठले यसअघि पनि झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न गर्नुभएको थियो । निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठको कम्पनीले भवन र सिंचाई कुलो समेत तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको उदाहरण छन् । मल्लरानी गाउँपालिकाको रस्पुरकोटमा एक वर्ष पहिले नै बिकासे सिंचाई कुलो निर्माण सम्पन्न भएको थियो । झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिंचाई कुलो निर्माण गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।
प्युठान नगरपालिकामा नौकुलो सिंचाई योजना डेढ वर्ष अघि नै सम्पन्न भएको थियो । सरुमारानी गाउँपालिकाको बांगेशाल स्वास्थ्य चौकी ६ महिना अघि निर्माण सम्पन्न गरेर सरकारबाट बोनस समेत प्राप्त गरेको श्रेष्ठ बताउनुहुन्छ । “बांगेशाल स्वास्थ्य चौकी बनाउँदा ११ लाख रुपियाँ बोनस प्राप्त भएको थियो,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय