सुजल श्रेष्ठ
प्यूठान । प्यूठानमा १८ हजार ८८५ जनाको जीवन बीमाको बीमालेख सक्रिए रहेको छ । जसबाट ५१ करोड ५४ लाख २५ हजार ५४० रुपियाँ बीमा शुल्क संकलन भएको नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका सहायक निर्देशक निर्मल खनालले जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले सोमबार प्युठानमा सञ्चारकर्मीसँग गरेको अर्न्तक्रिया तथा छलफल कार्यक्रममा लुम्बिनी प्रदेशमा १८ दशमलव ९० प्रतिशत नागरिकले जीवन बीमा गराएको जानकारी गराइएको छ । दश लाख ५६ हजार ८८३ जना नागरिकले जीवन बीमा गराएको प्राधिकरणले जनाएको हो ।

कार्यालयका सहायक निर्देशक निर्मल खनालले जीवन बीमाबाट लुम्बिनी प्रदेशमा २४ अर्ब ३३ करोड ९३ लाख २९ हजार १७२ रुपियाँ बीमा शुल्क संकलन भएको बताउनुभयो । हालसम्म चार अर्व ७० करोड ५४ लाख ४४ हजार १२४ रुपियाँ बीमा दावी भुक्तानी गरिएको छ ।


चालु आर्थिक वर्षमा चार लाख ७५ हजार ८४१ वटा निर्जिवन बीमालेखबाट तीन अर्ब ५२ करोड ५१ लाख ७८ हजार ९१० रुपियाँ बीमा शुल्क संकलन भएको उहाँको भनाई छ । हालसम्म एक अर्ब ७७ करोड ५१ लाख १५ हजार ४३४ रुपियाँ दावी भुक्तानी गरिएको छ ।

बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख जमुना अर्यालले बीमालाई आर्थिक जोखिम कम गर्ने उपायको रुपमा आम नागरिकलाई बुझाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बीमाको आवश्यकतालाई बुझाउँदै आम नागरिकसम्म पुर्‍याउन सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरणले लुम्बिनी प्रदेशका ५२ वटा स्थानीय तहमा बीमा सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको जनाएको छ । स्थानीय तहमा कृषि बीमा शाखा स्थापना गरेर कृषिकका खेतीबाली र पशुपन्छीको बीमा गराएर आर्थिक जोखिम कम गर्न प्राधिकरणले छलफल थालेको समेत जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष सञ्जय रिजालको विशेष आतिथ्यता रहेको थिए । कार्यक्रममा सहभागी पत्रकार तथा बीमा कम्पनीका प्रतिनिधिले विभिन्न गुनासो, सुझाव समेत राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय