✍️ रमेश खनाल

[कथा भाग]
त्यो साँझ कतारको तातो बालुवामा उभिँदै,
मैले हातको खाजा बक्स खोलें।
भित्र थियो —
भातको साटो कारखानाको रोटी,
तर सम्झनामा थियो —
आमाले पकाएको गुन्द्रुकको झोल।

आज धेरै दिन भयो,
गाउँको माटो छुन नपाएको।
फेसबुकमा हेरेको थिएँ —
बाको आँखामा बाक्लो चश्मा लागेको छ।
र आमा?
हिजो भिडियो कलमा सोध्नुभयो —
“तँ आउँदा गोरु किन्ने कि, ट्र्याक्टर?”

[कविता भाग]
गाउँ सम्झँदा, हृदय हल्लिन्छ —
जस्तै हावाले उडाउँछ रूखका पातहरू।
बालापनका गल्लीहरू अझै उस्तै छन् होला,
तर त्यो गल्लीमा हिड्ने म
अब थाकिसकेको छु —
कमाउने सपना कँधमा बोकेर।

[कथा भाग]
साथीहरू सबैजना सहरमा,
केही विदेशमै।
गाउँ सुनसान छ रे —
बारी बाँझो, पिँढी खाली,
चुलोमा धुवाँ छैन रे।

आज त मैले आफुलाई सोधेँ —
“यो कमाइ केको लागि?”
महल बनाउन?
कि माटो बिर्सन?

[कविता भाग]
मेरो आत्मा अझै त्यो बेंसीको खोला हो,
जहाँ मैले तैरिएर हाँसेको थिएँ।
शरीर त शहरमा,
तर मन —
माघ महिनाको बिहानजस्तै, गाउँमै चिसिएको छ।

[कथा भाग]
बिहान काममा जाँदा आमाको स्वर सम्झिन्छु —
“बिहानै नखाइकन जानु हुन्न छोरा!”
तर यहाँ —
भोक पेटको होइन,
भावनाको लाग्छ।

[कविता भाग]
म फर्किन्छु आमा,
फर्किन्छु त्यो बाँझो खेत जो मसँगै रुँदैछ।
म फर्किन्छु बा,
तपाईंको काँधमा कोदालो साट्न।
म फर्किन्छु गाउँ —
जसले मलाई मान्छे बनायो,
अनि मैले उसलाई खाली छोडें।

“म फर्किन्छु आमा…”
शब्द मात्र होइन,
यो मेरो हरेक सासको प्रतिज्ञा हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय