सुजल श्रेष्ठ 

प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्यूठानले सञ्चालन गरेको तरकारी जोन अर्न्तगत मल्लरानी गाउँपालिका ३ र ५ नम्वर वडामा एक सय वटा टनेल निर्माण गरिएको छ । ३ नम्वर वडाको खाइनडाँडा र ५ नम्वर वडाको सरङकोटमा तरकारी खेतीका लागि टनेल निर्माण गरिएको हो ।

निर्माण गरिएको टनेलमा किसानले बेना लगाउन थालेका छन । बेमौसमी तरकारी तथा टमाटर उत्पादन गर्ने उदेश्यले टनेल खेती गर्न लागेको सरङकोटका किसान मुकुन्द मल्लले बताउनुभयो । टनेलसँगै पानी संकलन गर्न पोखरी समेत निर्माण गरिएको छ । टनेल निर्माण भएपछि किसानहरु हौसिएका छन । तरकारी खेतीकै लागि मल्लरानी गाउँपालिकाले वीऊ, विषादी लगायतमा समेत सहयोग गरेको मल्लले बताउनुभयो ।

उक्त ठाउँको जिल्ला स्तरीय अन्तर समन्वय समितिको अनुगमन टोलीले आईतबार अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको नेतृत्वमा रहेको टोलीले स्थलगत रुपमा किसानसँग भेट गरेर छलफल समेत गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले सरङकोट र खाइनडाँडाका किसानले गरेको परिश्रमबाट राम्रो उत्पादन मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानलाई प्रोत्साहन दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मल्लरानी गाउँपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले किसानले उत्पादन गरेका उपजलाई पालिकाले बजारीकरण गर्ने जिम्मा लिने बताउनुभयो । उहाँले किसानलाई उत्पादनको आधारमा थप अनुदान समेत दिने गरेको बताउँदै उत्साहित भएर कृषि क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले विगत ३ वर्षदेखी कार्यालयले नयाँ प्रविधिमा जोड दिँदै तरकारी जोनमा काम गर्दै आएको बताउनुभयो । उहाँले थोपा सिंचाई, मल्चिङ प्रविधि, टनेल खेती तर्फ किसानलाई उत्प्रेरित गर्दै लगेको बताउनुभयो । कार्यालयले धान जोन र अदुवा बेसार जोनको रुपमा समेत काम गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्यूठानका सचिब बासुदेव गिरीले कार्यालयले गरेको लगानी र किसानले गरेको परिश्रम देख्न लायक भएको बताउनुभयो । उहाँले गाउँमा भएको यस कार्यको जिल्लाका अरु किसानले पनि सिको गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय