प्यूठान । ऐरावति सामाजिक उद्यमी महिला सहकारीको तीन दिने अध्ययन अवलोकन भ्रमणबाट विभिन्न सिकाई प्राप्त गरेको छ । दाङ, बुटवल र पाल्पाका विभिन्न सहकारी तथा फर्महरुको अध्ययन अवलोकनसँगै अर्न्तक्रिया गरेर सहकारी सञ्चालन तथा व्यवस्थापनका विषयमा विभिन्न सिकाई हासिल भएको अध्यक्ष कमला घर्तिमगरले बताउनुभयो । सहकारीको व्यवस्थापनको पाटो, कृषि उपज तथा पशुबस्तुको बजारीकरण, उद्यमशिलता लगायतका विषयमा दोहोरो अन्तरसम्वाद समेत भएकाले ऐरावती सहकारीलाई आगामी दिनमा अघि बढाउन प्रेरणा मिलेको उहाँको भनाई छ ।

अनुभव आदान प्रदान गर्ने उदेश्य सहित प्यूठानको ऐरावति सामाजिक उद्यमी महिला सहकारी अध्ययन अबलोकन भ्रमणमा निस्किएको छ । विभिन्न सहकारी, बाख्रा फार्म, कृषि फार्मको अध्ययन अबलोकन गर्नका लागि बुधबारदेखी ३ दिने भ्रमण थालेको हो ।

लमही–९ रिहार दाङ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्ययन अबलोकन सहित अन्तरक्रिया गरेको थियो । कर्मठ सहकारीका अध्यक्ष देवीमाया थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा सहकारीको गतिविधिबारे ब्यबस्थापक हेम नारायण चौधरीले प्रस्तुति राख्नुभएको थियो ।

२०६८ सालमा समुह गठन बाट शुरूवात गरि २०७० सालमा सहकारी गठन गरिएको हो । २५ जना सदस्य सुरुवात भएको सहकारीमा अहिले १ हजार ९५ सदस्य पुगेका छन ।

खशी बोका बिक्री बितरण गर्दै आएको सहकारीले गत वर्ष २ हजार ८३ वटा खसीबोका बिक्री गरेको ब्यबस्थापक चौधरीले जानकारी दिनुभयो । खसीबोकाको माग धेरै हुँदा पुर्याउनु कठिन भएको चौधरीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी ऐरावती गाउँपालिकाका लेखा शाखा प्रमुख राम बहादुर बस्नेतले सिकाइका लागि राम्रो ठाउँ कर्मठ सहकारी भएको बताउनुभयो । उहाँले ऐरावती सहकारीले राखेको उदेश्य पुरा गर्न भ्रमणबाट धेरै सिकाई हुने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले ऐरावति सामाजिक उद्यमी महिला सहकारी संस्थाको भ्रमणको उदेश्यबारे जानकारी गराउदै सहकारीको अबलोकन र अन्तरक्रियाले सहकारीको कुशल ब्यबस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

पाल्पाको रिब्दीकोट स्थित देविस्थान बहुउदेश्यीय सहकारी संस्थाले गरेको गतिविधिको अवलोकन गरेको थियो । रिब्दीकोटमा पछिल्लो समय व्यावसायिक रुपमा गरिएको अकवरे खुर्सानीको खेतीको अवलोकन गरिएको थियो । पालिका भित्रका २ सय रोपनी क्षेत्रफलमा अकवरे खुर्सानीको खेती गरिदै आएको सहकारीले जनाएको छ । उक्त अध्ययनबाट ऐरावतीका विभिन्न क्षेत्रमा अकवरे खुसार्नी खेतीका लागि नमुना खेती शुरुवात गरेर अघि बढ्ने सहभागी किसानले इच्छा व्यक्त गरेका छन ।

ऐरावती गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगाको सहजिकरणमा सञ्चालीत ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत अध्ययन अबलोकन भ्रमण आयोजना गरिएको परियोजना संयोजक नारायणलाल श्रेष्ठले बताउनुभयो । पालिकाको कृषि तथा पशुपालनको सुधार गरी व्यावसायिक रुपमा अघि बढाउन परियोजनाले काम गर्दै आएको उहाँको भनाई छ । सहकारीले पछिल्लो सयम खसीबोकाको बजारीकरण समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय