प्यूठान । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले आगामी निर्वाचनमा आफ्नो पार्टी कसैसंग तालमेल नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । बिगतमा भएको निर्वाचनमा तालमेल गर्दा ठुलो धोका पाएको भन्दै अबको निर्वाचनमा तालमेल नगर्ने स्पष्ट पार्नुभएको हो ।
प्रगतिशील पत्रकार संघ प्यूठानले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले एक्लै चुनाव लड्दा पार्टीलाई फाईदा पुग्ने बताउनुभयो । उहाँले त्यसले सिट संख्या र समानुपातिक मत दुवै बढ्ने दावी गर्नुभयो ।
अघिल्लो निर्वाचनमा प्यूठानमा माओवादी र काङ्ग्रेसबाट अन्तरघात भएको आरोप लगाउनुभयो ।”सहमति गरेपछि हामी दृढतापुर्वक कार्यान्वयन गर्छौं, चाहे दुश्मन नै किन नहोस” उहाँले भन्नुभयो, “तर अरु पार्टीले त्यसो गरेनन ।” पार्टीको नवौं महाधिवेशनले चुनावमा तालमेल नगर्ने निति पारित गरेको स्पष्ट पार्नुभयो ।
प्यूठानबाट तपाइँको पार्टीको उम्मेदवार को हो भन्ने प्रश्नमा नेता सिंहले भन्नुभयो,”जिल्लाबाट सिफारिस हुन्छ र पार्टीको संसदीय समितिले टुङ्गो लगाउछ ।
प्रगतिशील पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जुमान सिंह केसीले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष, पुर्व अध्यक्ष, पत्रकार संगठनका अध्यक्ष, संचारकर्मी लगायतको उपस्थित थियो ।



S.K. Creative Media Group