प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-५ , स्थित मच्छीमा हाटबजारको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नवनिर्मित हाटबजारको उद्घाटन गर्नुभएको हो ।
स्थानिय कृषी उपजको बजारीकरणका लागी सहज होस भन्ने उदेश्यले हाटबजारको निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । गाउँपालिका भित्र कुनै न कुनै क्षेत्रमा कुनै न कुनै खालको कृषिको उत्पादन हुने गरेको र किसानले बजारीकरणको समस्या झेल्दै आएको भन्दै त्यसको सहजताको लागि हाटबजारको निर्माण गरिएको अध्यक्ष एमसीले बताउनुभयो । अध्यक्ष एमसीका अनुसार स्थानियको जग्गा भाडामा लिएर हाटबजार निर्माण गरिएको जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिका भित्रका वडाका विभिन्न बस्तीहरुमा फलफुल, तरकारी, तथा अन्य अन्नबाली राम्रो उत्पादन हुने भएकाले स्थानीय किसानले उत्पादन गरेको उत्पादित बस्तुको बजारीकरण र उचित मुल्यको लागि स्थानीय रुपम हाटबजार सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष एमसीले बताउनुभयो । बजारको समस्याको कारण किसानले उत्पादन गरेका तरकारी तथा अन्य अन्नबाली बिक्रीवितरण हुन्न कि भन्ने चिन्ता नगर्न अध्यक्ष एमसीले किसानलाई आग्रह गर्नुभयो ।
झिमरुक गाउँपालिकाका प्रत्येक वडालाई पकेट क्षेत्रका रुपमा बिकास गरेर कृषिमा आत्नमनिर्भर गाउँपालिका बनाउन गाउँपालिका लागी परेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । सुन्तला, आलु, टमाटर, दुध, तथा अन्य कृषि उपजको बिकाससंगै किसानलाई ब्यवसायीक बनाउन गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
हाटबजार सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेका उत्पादित बस्तु बजारमा बिक्रीवितरण गर्न सहज हुने झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकी,अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो । हाटबजार सञ्चालनले किसानलाई उत्पादित बस्तुले भाउ पाउन्नकी भन्ने समस्या हटेर जाने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै निवर्तमान पालिका अध्यक्ष तिलक बहादुर जिसीले यो क्षेत्रमा उत्पादित बस्तुको बिक्रीवितरण गर्नको लागि यो हाटबजार सहयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले झिमरुकका सबै वडामा कृषि उत्पादनको निकै सम्भावना भएकोले किसानको समस्यालाई मध्येनजर गर्दै स्थानीय सरकारले कृषिको क्षेत्रलाई महत्त्व दिएर बजेट तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो । किसानलाई मल बिउको समस्या रहेकोले त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
आगामी माघ ४ गते स्थानिय, कृषक, जनप्रतिनिधी लगाएतको छलफल पछि हाटबजार सञ्चालन योजना बनाईने र नियमित सञ्चालन गर्नै गाउँपालिकाले योजना बनाएको छ ।
झिमरुक गाउँपालिकाले करिब ६ लाख रुपैया बराबरको लागतमा हाटबजार निर्माण गरिएको पालिका इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीय ब्यापारी, होटल व्यवसायी, स्थानीय लगायतको बाक्लो उपस्तिथि रहेको थियो ।
हाटबजार सञ्चालनमा आएपछि आफुले उत्पादन गरेको बस्तु बिक्रीवितरण गर्न सहज हुने भएपछि स्थानीय किसान हौसिएका छन् । हाटबजार सञ्चालन गर्ने जिम्मा समितिलाई दिएको पालिकाले जनाएको छ ।






S.K. Creative Media Group