प्यूठान । जिल्लामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले अहिलेको प्रमुख लक्ष्य र कार्यभार नै आगामी निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने रहेको बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय प्यूठानमा आयोजित सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा उहाँले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्नु आफ्नो मुख्य दायित्व रहेको बताउनुभएको हो ।
‘आसन्न निर्वाचनको वातावरण सरकारले तयार गरेको छ ।’, उहाँले भन्नुभयो, ‘दलहरु पनि निर्वाचनमै केन्द्रित भएकाले अब निर्वाचन सम्पन्न गर्नु हाम्रो पहिलो दायित्व हो ।’ विकास निर्माणमा सहजिकरण र सुशासन प्रवद्र्धनका कामहरु समेत सँगसँगै अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईंले निर्वाचनका क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउने, प्रशासनिक संयन्त्रलाई चुस्त राख्ने तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरेर काम गरिने जानकारी दिनुभयो।
उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्नु, कानुनको प्रभावकारी कार्यान्वयन गर्नु र सर्वसाधारणलाई सहज रूपमा सेवा प्रवाह गर्नु पनि आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । “जनताले प्रशासनबाट छिटोछरितो, पारदर्शी र निष्पक्ष सेवा पाउनुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि कर्मचारी संयन्त्रलाई थप जिम्मेवार र उत्तरदायी बनाइनेछ।”
प्रमुख जिल्ला अधिकारी प्रसाईंले जिल्लामा हुने अवाञ्छित गतिविधि, अफवाह तथा कानुन विपरीतका कार्यप्रति कडाइका साथ नियन्त्रण गरिने जानकारी दिनुभयो । उहाँले यसको लागि पत्रकार, सञ्चारमाध्यम र नागरिक समाजलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
सरकारी निकायबाट नागरिकले पाउने सूचनामा सहज पहुँच बनाउन पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले अनुरोध गर्नुभयो । उहाँले सरकारी निकायले तोकिएको समयमै नियमित रुपमा सूचना सार्वजनिक गर्ने परिपाटीलाई निरन्तरता दिन समेत ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरु, प्यूठान प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरूले जिल्लाका समसामयिक विषय, विकास निर्माण, शान्ति सुरक्षा र सेवा प्रवाहसम्बन्धी विषयमा जिज्ञासा राखेका थिए।



S.K. Creative Media Group