प्यूठान । नेकपा (एमाले) प्यूठानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि तयारीलाई तीव्र बनाएको छ । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै एमाले प्यूठानले आफ्नो उम्मेदवारलाई विजयी गराउन अभियान थालिसकेको छ ।
एमाले प्यूठानले दुई दिनमा जिल्लाका ६ वटा पालिकामा पुगेर पालिका स्तरीय कमिटीका पदाधिकारी र अगुवा कार्यकर्तासँग छलफल गरेको छ । पहिलो दिन स्वर्गद्धारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा पुगेर चुनावी रणनीतिका विषयमा आन्तरिक छलफल गरेको एमाले प्यूठानका उप-सचिब एवं प्रचार बिभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो ।
दोस्रो दिन शुक्रबार ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकाकामा पुगेर अगुवा कार्यकर्तासँग भेटघाट र छलफल गरेको छ । पालिका कमिटी, वडा कमिटी र टोल कमिटीलाई सक्रिय बनाउँदै थप परिचालन गर्ने विषयमा छलफल भएको प्रचार बिभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो ।
नेकपा(एमाले) प्यूठानले निवर्तमान प्रतिनिधि सभा सदस्य सूर्य थापालाई उम्मेदवार बनाएको छ । यसअघि निर्वाचित थापाले पुरा कार्यकाल विताउन नपाउँदै निर्वाचनको अवस्था आएकोले विगतमा थालेका कामलाई पूर्णता दिन एमालेलाई विजयी गराउनुपर्ने एमालेको धारणा छ । लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ती समेत नेकपा एमालेलाई जनताले मत दिनुपर्ने एमालेको भनाई छ ।
अहिले देशप्रेमी र लोकतन्त्रवादी दल नेकपा (एमाले)माथी देशी विदेशी शक्तिहरुले आक्रमण गर्दै आएको बताउँदै देशलाई विखण्डन हुन नदिन एमालेलाई विजयी गराउनुपर्ने अध्यक्ष बिजय बिराज विष्टले बताउनुभयो । मुलुकलाई ध्वसंमा पारेर अस्थिरता सृजना गर्न नेकपा (एमाले)माथी घेरावन्दी भइरहेको उहाँको भनाई छ । त्यसका विरुद्ध जुट्न उहाँले आम कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ ।
मुलुकको सर्वोच्व निकाय अदालत, संसद र सिंहदरबार जलाउनेलाई देश सुम्पने कि मुलुक निर्माण गर्ने, मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडी बढाउने शक्तिलाई जिताउने भन्ने विषयमा जनताले विवेक प्रयोग गर्नुपर्ने अवस्था आएको अध्यक्ष बिष्टको भनाई छ ।



S.K. Creative Media Group