प्यूठान । नेकपा (एमाले) बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्नुभएका सूर्य थापाले पहिलो चरणमा जिल्लाका सवै पालिका पुगेर आफ्ना कार्यकर्तासँग भेटघाट सम्पन्न गर्नुभएको छ ।
उम्मेदवारी दिए लगत्तै नौ वटै स्थानीय तहमा रहेका पालिका कमिटीहरुमा आवद्ध अगुवा कार्यकर्तासँग भेटघाट गरेर आन्तरिक रणनीति तयार गरेको नेकपा (एमाले) प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो । पहिलो चरणमा अगुवा कार्यकर्तासँग भेटघाट गरि पार्टीको आन्तरिक जीवनको विषयमा छलफल र चुनावी रणनीतिका विषयमा योजना बनाइएको बताउनुभयो ।
आईतबार मात्रै गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकामा पुगेर अगुवा कार्यकर्तासँग भेटघाट र छलफल भएको पार्टीका सचिव इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो । गौमुखी गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको उहाँको भनाई छ । अबको दिनमा चुनाव लक्षित अरु कार्यक्रमहरु सञ्चालन गरिने सचिव पोख्रेलले बताउनुभयो ।
नेकपा (एमाले) प्यूठानले प्रतिनिधि सभा निर्वाचनका लागि निवर्तमान सांसद सूर्य थापालाई पुनः दोहोराएको छ । विगत तीन वर्षमा शुरु गरेका कामलाई सम्पन्न गर्नका निम्ती एमालेलाई जिताउनुपर्ने बताउँदै आएको छ । विगतमा पाँच दलिय गठबन्धनसँग फराकिलो मतले विजय हासिल गरेको भन्दै यस वर्ष एक्ला एक्लै चुनाव लड्दा जित निकाल्न झन सजिलो हुने एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टको भनाई छ ।



S.K. Creative Media Group