प्यूठान । प्यूठान जिल्ला सदरमुकामको शिरमा अवस्थित मल्लरानी डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । सदरमुकामदेखि नजिक र सहज गन्तव्य भएका कारण मल्लरानीमा आन्तरीक तथा बाह्य पर्यटक पुग्ने थालेका छन् ।
“मल्लरानी प्यूठानको सहज पर्यटकीय गन्तव्य हो,” दोस्रो मल्लरानी फुड फेस्टिबलमा प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य सूर्य थापाले भन्नुभयो, “यहाँ धेरै पूर्वाधारहरु विकास भएका छन् ।” शुक्रबारदेखी मल्लरानीमा सञ्चालन भएको दोस्रो खाना महोत्सव अर्थात फुड फेस्टिबल सञ्चालन भएको छ । “विदाको समयमा बाहिर घुम्ने क्रम बढ्दै गएको छ,” थापाले भन्नुभयो, “मल्लरानी सजिलो र नजिकको गन्तव्य बनेको छ ।” उहाँले मल्लरानीमा थप संरचना र व्यवस्थापन आवश्यक रहेको समेत औल्याउनुभयो ।
उहाँले मल्लरानी पुग्ने पदमार्ग निर्माणका लागि आगामी अर्थिक वर्षमा बजेटमा सम्बोधन हुने गरि योजना अघि बढाएको बताउनुभयो । मल्लरानीको विकासका लागि स्थानीय जनसमुदायबाट भएको पहलको प्रंशसा गर्दै भन्नुभयो, “धेरै चिन्ता गर्नुभएको छ, चिन्तासँगै चिन्तित हुनभयो भने त्यसले फाइदा पुग्नेछ ।”
कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानीको विकासका लागि सवैसरोकारवालाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले कुरा भन्दा काम गरेर यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजकुमार कक्षपति, प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्य, मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेलले शुभकामना मन्तव्य राख्दै महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार इलाकाका अध्यक्ष बासुप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष भरत कुमार श्रेष्ठको स्वागत रहेको कार्यक्रमको सञ्चालन पत्रकार बिजयसिंह भारतीले गर्नुभएको थियो ।