प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ प्युूठानको अधिवेशन यहि वैशाख १५ गते हुने भएको छ। बिहिवार संघले प्युठान नगरपालिका-३ जुम्रीस्थित विजय फूलबारी साकोसको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि बैशाख १५ गते दोस्रो अधिबेशन गर्ने जानकारी दिएको हो ।
अधिबेशनले दलितका मुद्दाहरूलाई स्थापित गर्दै समतामूलक समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा संघले गरेको राष्ट्रिय दलित पत्रकार संघ प्युठानका अध्यक्ष लोकेन्द्र सुनार्ले जानकारी दिनुभयो । अहिले पनि समाजमा दलित र गैरदलित बिच असमानता रहेकोले समानताको लागि कलम चलाउनुपर्नेमा पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
अधिवेशनमा दलितका कला, सिपसंग जोडिएका बस्तु प्रदर्शनी गर्ने, बिहान मिडियामा दलितको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रमहरु गरिने अध्यक्ष सुनारले जानकारी दिनुभयो ।
अध्यक्ष सुनारका अनुसार जातीय भेदभाव र छुवाछुत विषयक अन्तरक्रियाको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई वक्ताको रुपमा आमन्त्रण गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, दलित अधिकारकर्मी उमादेवी वादी, लुम्बिनी प्रदेश सांसद निमा गिरी, दलित अधिकारकर्मी खगेन्द्र सुनार, डा.निर्मल विश्वकर्मा, गोरखापत्रका उपसम्पादक एवं लेखक लक्ष्मण दर्नाल र दलित अधिकारकर्मी राधा नेपाली जिल्ला स्थित पत्रकार प्रमुखहरु लगायतका वक्ताहरु उपस्थित रहने अध्यक्ष सुनारले जानकारी दिनुभयो ।
अधिवेशनको कार्यक्रमस्थलमा चेतनामूलक साँस्कृतिक कार्यक्रम सहित प्यूठानमा दलितहरुले परम्परागत रुपमा पेशागत रुपमा अँगाल्दै आएका फलाम धातुजन्य सामग्री, बाजाहरु, प्यूठानका बाघमुखे चुलेसी, काष्ठकलाहरु प्रदर्शनमा राखिने छ । प्रदशनीका सहजीकरणका लागि संघका सदस्य प्रेमबहादुर विश्वकर्मालाई जिम्मेवारी दिईएको आयोजकले जनाएको छ ।
नेपालको दलित आन्दोलनमा भएका कुराहरु लिपिबद्ध गर्दै दलितका हराउँदै गएका मौलिक सिप र कलालाई संचार क्षेत्रमा प्रबर्द्धनको लागि अधिबेशनले महत्त्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ । अधिवेशनलाई भव्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाल, प्यूठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का उपाध्यक्ष भुवन सिंह, प्रेस चौतारी नेपाल प्युठान शाखाका अध्यक्ष वासुदेव गिरी, प्रेस सेन्टरका केन्द्रिय सदस्य हरी भण्डारी, जनपत्रकार संघका जिल्ला अध्यक्ष राजेन्द्र रावत क्षेत्री, प्रेस चौतारी नेपाल लुम्बिनी कोषाध्यक्ष एलबी थापा, पत्रकार महा संघ प्युठानका पुर्व सचिब बिजयसिंह भारती लगायत पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष कमल बिकले गर्नुभएको थियो भने कार्यक्रम संचालन संघका सचिब बोमबहादुर परियारले गर्नुभएको थियो।