प्यूठान । आजदेखि शुरु भएको कक्षा १२ को परीक्षामा प्यूठानबाट २ हजार ४६६ जना परीक्षार्थी सहभागी भएका छन । नियमित तर्फ उक्त संख्यामा परीक्षार्थी रहेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङले जनाएको छ ।
आज पहिलो दिन अंग्रेजी विषयको परीक्षामा ७७६ जनाले ग्रेड वृद्धि र पुरक परिक्षा दिएका छन । जिल्लाभरका ३० वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख राम जलम चौधरीले बताउनुभयो । जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो ।
कारागारका थुनुवाले परीक्षा दिदै
प्यूठान कारागारका एक जना थुनुवा १२ को नियमित परीक्षामा सहभागी भएका छन । सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका युवकले महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट परीक्षा दिएको कारागारका प्रमुख सुर्य बहादुर पन्तले बताउनुभयो ।
देशभर झण्डै ४ लाख परीक्षार्थी
यसवर्षको कक्षा १२ को परीक्षामा नियमिततर्फ देशभरका ५ हजार ५ सय ४२ विद्यालयका ३ लाख ९० हजार ८ सय ४७ जना परीक्षार्थी मध्य १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभएको छ । त्यस्तै बोर्डका अनुसार ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी हुने छन् । परीक्षा वैशाख २६ गते सम्म राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।