गुल्मी । गुल्मीमा आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको तयारी थालिएको छ। मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन कार्यालय, गुल्मीका अनुसार ०७९ सालको निर्वाचनको आधारमा उपनिर्वाचन हुने मुसिकोट नगरपालिका–१ मा तीन मतदान स्थल र पाँच मतदान केन्द्र रहेका छन । उक्त वडामा ३ हजार ८ सय ८ मतदाता रहेका छन ।
जनज्योति मावि, अरेबा मतदान केन्द्रमा एउटा मात्र मतदान केन्द्र रहेको छ । उक्त केन्द्रमा ८ सय ३ मतदाता रहेका थिए । त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा १ हजार २ सय ४२ मतदाता र नेपाल राष्ट्रिय सर्बोदय मावि मतदान स्थलको दुई केन्द्रमा १ हजार ७ सय ४३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो ।
तत्कालीन अवस्थामा नेपाली कांग्रेसका मोहन घिमिरेले १ हजार १ सय ८२ मत प्राप्त गरेर बिजयी हुनुभएको थियो । घिमिरेका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १ सय ४३ मत प्राप्त गर्नुभएको थियो । मतदाता अद्यावधिकको काम गरेर अन्तिम नामवली प्रकाशनको तयारी भइरहेको निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत कृषिराम घिमिरेले बताउनु भयो । उहाँले मुख्य निर्वाचन अधिकृत सिफारिस भएर आएपछि निर्वाचन कार्यतालिका अनुसार काम अगाडि बढ्ने जानकारी दिनुभयो ।



S.K. Creative Media Group