अनिल खत्री, गुल्मी । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा गुल्मी जिल्लामा पनि एउटा वडाको वडाअध्यक्ष पदमा निर्वाचन हुन लागेको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर-१ को रिक्त वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
मुसिकोट नगरपालिकाको वडा नम्बर-१ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु गर्न थालेका छन् ।
दलहरुले वडामा उम्मेदबार छान्ने र चुनाव लक्षित कार्यक्रमहरु पनि गर्न थालेका छन् । वडाअध्यक्ष पदमा हुन लागेको निर्वाचनको लागि दुई ठूला दलले उम्मेदबार छनोट समेत गरेर चुनावी अभियानमा जुटेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदबार छनोट गरेर चनावी गतिबिधी बढाएका छन् । नेपाली कांग्रेसले आनन्द श्रेष्ठलाई उम्मेदबार बनाउने निर्णय नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानहरी सापकोटाले बताउनुभयो। वडा अध्यक्ष पदमा उम्मेदबार बनेका श्रेष्ठ ३५ वर्षका युवा हुन् । उहाँ पार्टीको तरुणदल र विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।
त्यस्तै नेकपा एमालेले दलबहादुर थापालाई वडा अध्यक्ष पदको उम्मेदबार बनाउने निर्णय गरेको एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो। वडा अध्यक्ष पदमा उम्मेदबार ५५ वर्षका थापा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडासदस्य पदमा निर्वाचित भएका थिए ।
उहाँ नेकपा एमाले मुसिकोट नगरकमिटी सचिवालय सदस्य पदमा कार्यरत छन् । वडा अध्यक्ष पदका लागि माओबादी केन्द्रले पनि उम्मेदबार उठाउने भएको छ ।
त्यसका लागि छलफल भइरहेको र एक दुइ दिनमै निर्णय हुने नेकपा माओवादी केन्द्र जिल्ला सचिव अशोक थापाले बताउनुभयो। त्यस्तै एकीकृत समाजवादीले पनि उम्मेदबार छनोट गर्न छलफलमा रहेको एकीकृत समाजवादी पार्टी गुल्मीले जनाएको छ ।
वडा अध्यक्ष पदमा उपनिर्वाचनको लागि उम्मेदबार बनाउन छलफलको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले जनाएको छ। शनिबार जिल्ला भेला गर्न लागेकाले त्यसपछि उम्मेदबार छनोट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका नेता बावु पन्थीले बताउनुभयो ।
जिल्लामा अरु दलहरुले पनि उम्मेदबार उठाउने तयारी गरेपनि हालसम्म कुनैपनि निर्णय गरेका छैनन् । जिल्लाको मुसिकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित बहुमत वडामा एमालेबाट निर्वाचित जनप्रनिधि रहेका छन् ।
हाल उपनिर्वाचन हुन लागेको वडानम्बर–१ का ०७४ सालमा पनि नेपाली कांग्रेसले जीतेको थियो । त्यस वडामा २०७९ सालमा सम्पन्न स्थानी तह निर्वाचन अनुसार ३ हजार ८ सय ८ जना मतदाता रहेका छन् ।



S.K. Creative Media Group