प्यूठान । प्यूठानको झिमरुक मच्छिमा झिमरुक कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। सोमबार ‘कृषि पर्यटन उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार ‘भन्ने मूल नारा सहित प्यूठान उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको मुख्य आयोजनामा सुरु भएको महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्माले उद्घाटन गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्माले कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेकोले यस्ता मेला, महोत्सवले यो क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि र उत्पादित वस्तुको प्रचार एवं बिक्री गर्न पनि महोत्सवले सघाउने शर्माले बताउनुभयो । उहाँले जिल्लाको बिकास र समृद्धिको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । जिल्लामा समग्र बिकासमा सबै सरकारको सहकार्य आवस्यक रहेको उहाँको तर्क छ ।

महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा रहेको लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले बताउनुभयो । स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफुलको बजारीकरणको लागि प्रबर्द्धन गर्न यो महोत्सव कोषेढुङ्गा साबित हुने उहाँले बताउनुभयो । झिमरुक पर्यटन हिसाबले महत्त्वपूर्ण प्रचुर सम्भावना बोकेको भुमी भएकोले प्रचारप्रसार र प्रबर्द्धन गर्न समेत महोत्सवले मद्दत पुग्ने बताउनुभयो । महोत्सवले झिमरुक र समग्र जिल्लामा रहेका कृषि, जडीबुटी, पर्यटन, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचारप्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरेको प्रदेश सभा सदस्य गिरीले बताउनुभयो ।

सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरि पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने र जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी यस क्षेत्रको कृषि, पर्यटन र उद्योग ब्यापारलाई सबलीकरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्यूठान उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको मुख्य आयोजनामा संचालन हुन लागेको मेला यहि कार्तिक २६ गतेदेखि मंसिर ८ गतेसम्म चल्ने छ। मेलाको सह-आयोजकमा खड्क निशान ग्रामीण विकास केन्द्र रहेको छ, भने संरक्षकमा झिमरुक गाउँपालिका रहेको छ । महोत्सवले झिमरुक र जिल्लाको आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, उर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ । महोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मी लगायतले मन्तव्य राख्दै महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ६० लाख रूपियाँकाे कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी, उत्पादित फलफुल, होटल लगायतको स्टलसमेत राखिएको छ । महोत्सवले सीप हस्तान्तरण, आर्थिक चलायनमान गराउन मद्दत पुग्ने आयोजकले बताइएको छ ।

महोत्सवमा विभिन्न जातजातिको भेषभुषासहितको झाँकी नृत्य, प्रदर्सन गरिएको थियो । महोत्सवमा कृषि, होटल र ब्यापार र अन्य गरी ५० वटा स्टल राखिएको मेलाको सह-आयोजक खड्क निशान ग्रामीण विकास केन्द्रका अध्यक्ष नारायण जिसीले बताउनुभयो । मंसिर ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा २० हजार दर्शक आउने अपेक्षा गरिएको उहाँले जानकारी दिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति प्रमुख आकर्षण रहेने आयोजकले जनाएको छ । महोत्सवमा विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई एक सय रुपियाँ टिकट शुल्क निर्धारण गरिएको छ । मेलामा प्यूठान डान्स आइडलका कलाकार, स्थानीय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलाको आजबाट झिमरुक गाउँपालिका-५, स्थित मच्छि बसपार्क छेउमा संचालन गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय ब्यापारी, उद्योगी, संघ संस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, बुद्धिजीवी, स्थानीय जनता लगायतको उपस्थिति रहेको थियो ।

व्यापार मेलाका संयोजक एवम् झिमरुक बजार क्षेत्रका अध्यक्ष बोधिराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मेलाको सह-आयोजक खड्क निशान ग्रामीण विकास केन्द्रका अध्यक्ष नारायण जिसीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय