गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा संस्कृति संरक्षण, तथा प्रबर्द्धन गर्न भन्दै देउँसी भैलो प्रतियोगिताको आयोजना गरि सम्पन्न गरिएको छ । शनिबार धुर्कोट गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कुमारीदेवी मन्दिरमा पालिका स्तरीय देउसी-भैलो कार्यक्रम सम्पन्न गरिएको हो ।
पालिकाका सबै वडाका देउँसी भैलो सहभागिता रहेको प्रतियोगितामा धुर्कोट गाउँपालिका-१ नयाँगाउँ प्रथम, वडा नम्बर ३ हाडहाडे द्धितिय, वडा नम्बर २ पिपलधारा तृतिय स्थान हासिल गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै धुर्कोट गाउँपालिका-४ जैसिथोकको देउसी-भैलोले सान्त्वना स्थान प्राप्त गरेको छ ।
जैसिथोकमा भएको पालिका स्तरीय देउसी भैलो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई प्रमुख अथितिबाट नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सहभागि सबैलाई प्रोत्साहन स्वरुप यातायात खर्च समेत उपलब्ध गराइएको पालिकाले जनाएको छ । सो कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली २०८१ को उपलक्ष्यमा स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका गर्नको लागि गाउँपालिकाले देउँसी भैलो प्रतियोगिताको आयोजना गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।
पछिल्लो समय हाम्रा पुराना कला संस्कृति हराउँदै गएको र देउँसी-भैलोको नाममा गाउँ घरमा विकृति बढ्दै गएको भन्दै पालिकाले स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग होस भन्ने उदेश्यले देउँसी-भैलो प्रतियोगिता गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । पुस्ता हस्तान्तरण नहुदा पुरानो कला संस्कृति संकटमा पर्दै गएकोले यसको संरक्षण र प्रवद्र्धनमा सबैकले चासो दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा सबै वडाले मौलिक भाकामा सोरठी, मारुनी नृत्य तथा गित मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो । भैलोमा मारुले, भट्याउने, पुर्सुङ्गे लगायत सबैको भूमिकामा भैलेनीहरुलाई नचाइएको थियो । भैलो प्रतियोगिता हेर्नको लागि स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group