प्यूठान । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उत्पादित बस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न उद्योग संचालन गर्ने ब्यबसायीलाई शुक्रबार अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य धनलक्ष्मी श्रेष्ठले उद्योगमा उत्पादन गरिएका सामग्री प्रयोगमा मानिसको स्वास्थ्यमा प्रतिकुल असर नगर्ने खालको उत्पादन गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले संविधानको मौलिक हकमा खाद्य सुरक्षा र उपभोक्ता अधिकार राखिएकोले यो विषय महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले जिल्लाका धेरै भन्दा धेरै ब्यबसायीलाई समेटेर अन्तरक्रिया र अभिमुखिकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले जिल्लामा अनुगमनका क्रममा गुणस्तरहिन सामाग्री भेटिने गरेको भन्दै जिल्लाका उद्योगी ब्यबसायीले गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले साना उद्यमीले जिल्लाको बिकासमा टेवा दिइरहेको भन्दै गुणस्तर वृद्धि गर्न तर्फ लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा उद्योगमा उत्पादन गरिने सामग्रीको प्याकेजिङ, लेबलिङ गर्ने तरिका, उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु, कम्पनीको नाम, लेबलिङ सम्बन्धी कानूनी व्यवस्था, सरकारले निर्दिष्ट गरेको नियम र गुणस्तर मापन लगायतका बिषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग दाङका खाद्य निरिक्षक अधिकारी सुदर्शन गोसाईले सहजीकरण गर्नुभएको थियो ।

प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मनि बहादुर गुरुङले बस्तुको गुणस्तर र लेवलिङ अनिवार्य गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ले ब्यबसायको र बस्तुको प्रचार प्रसार गर्न समेत सहयोग पुग्ने बताउनुभयो ।कार्यक्रमको संचालनमा उद्यम विकास सहजकर्ता संगिता नेपालीले गर्नुभएको थियो ।

अनुज्ञापत्र लिन र नविकरण गर्न सकस
जिल्लाका घरेलु तथा साना उद्योग सञ्चालन गरेका व्यवसायीले अनुज्ञापत्र लिन र नविकरण गर्न समस्या रहेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले आयोजना गरेको “उत्पादित बस्तुको गुणस्तर र लेवलिङ सम्वन्धि अभिमुखिकरण” कार्यक्रममा सहभागी साना उद्योगीले नेपालगञ्ज पुगेर अनुज्ञापत्र लिन र नविकरण गर्न झन्झटिलो भएको गुनासो गरेका हुन् ।

घरेलु तथा साना उद्योग महासंघका सचिब तथा नमुना चाउमिन उद्योगका सञ्चालक नविन प्रकाश श्रेष्ठले उत्पादित बस्तु सहित नमुना परीक्षणका लागि वर्षमा चार पटक नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “सामान सहित वर्षमा चार पटक जानुपर्छ,” उहाँले भन्नुभयो, “टाढा भएकाले समय र आर्थिक रुपमा खर्चिलो भएको छ ।” खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको डिभिजन दाङमा भएकाले दाङबाटै सेवा दिनुपर्ने उहाँको भनाई छ ।

वर्षेनी अनुज्ञापत्र नविकरण गर्दा समस्या भोग्दै आएको लक्ष्मी पाउरोटी उद्योगका सञ्चालक राजु गुरुङले बताउनुभयो । “कतिपय अवस्थामा परीक्षणका लागि लगेको सामान फिर्ता ल्याउनुपरेको छ,” उहाँले भन्नुभयो, “सरकारले उद्योगीलाई सहज हुने गरी यसको सहजीकरण गर्नुपर्छ ।” साना उद्योगीलाई नियमित रुपमा अनुगमन सँगै परामर्श सेवा समेत उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय दाङमा खाद्य निरीक्षक अधिकारी सुदर्शन गोसाईले व्यवसायीलाई खाद्य स्वच्छता, खाद्य लेवलिङ र प्याकेजिङको विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय