झिमरुक (मच्छी): प्युठानको झिमरुक गाउँपालिकामा बुधबारदेखि गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । झिमरुक गाउँपालिका-५, मच्छी स्थित झिमरुक नदि किनारमा रहेको मैनाके खेलमैदानमा झिमरुक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो।
झिमरुक गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता एवं प्युठान जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रमोद पोख्रेलको बिशेष आतिथ्यता रहेको खेलकुद प्रतियोगिताकाे जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले पानसमा दिपप्रज्वल गरि उद्घाटन गर्नुभएको हो ।
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख जिसीले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनुभयो । पछिल्लो समय स्थानीय तहमा खेलाडीहरुको आकर्षण बढ्दो छ । स्थानीय तहले खेलाडीको बढ्दो आकर्षणलाई कायम राख्न स्थानीय स्तरमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, खेलाडिहरुको क्षमता बढाउने खालको कार्यक्रम अगाडि बढाउन सुझाव दिनुभयो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले ‘स्थानीय सरकारले खेल क्षेत्रको समग्र पक्षलाई अध्ययन अनुसन्धान गर्दै आवश्यकताको आधारमा उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । खेलकुदका विविध विधाहरु छन् । सम्पुर्ण विधाहरुलाई समान रुपमा स्थानीय सरकाले प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय तहबाटै खेल क्षेत्रको बिकासको लागि खेलाडीलाई खेलसँग जोडेर लैजान सकेमात्र देशको नाम उचो बनाउने खालको खेलाडी उत्पादन गर्न सकिने भएकोले सबै सरकारले लगानीको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले खेलकुद प्रतियोगिताले स्थानीय स्तरबाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा समेत चिनाउन सकिने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक रुपमा मात्रै नभएर बिद्यालय बिद्यालय बीच आपसी मेलमिलाप र सहकार्यको बाताबरण निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगिताको सञ्चालन शिक्षा शाखा प्रमुख मोहन बिसीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, पुर्व गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी, पुर्व उपाध्यक्ष पबित्रा जिसी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु, खेलाडी आम नागरिक खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बारे सामाजिक बिकास संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतले जानकारी गराउनुभएको थियोे ।
झिमरुक गाउँपालिकाकाे आयोजना सुरु भएको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका १२ वटा सामुदायिक र १ संस्थागत बिद्यालय गरि १३ वटा रहेकोमा १२ वटा माध्यामिक तहका सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, दाैड लगायत खेलहरु समावेश गरिएको छ ।
खेल माघ १६ देखि १८ गते सम्म मच्छी स्थित झिमरुक नदि किनारमा रहेको मैनाके खेलमैदानको प्राङ्गणमा चल्ने आयोजकले जानकारी दिएको छ। यसै बीच शहिद दिवसका अवसरमा शहिदहरुको तस्वीरमा मल्यार्णपण गरि सहितहरु प्रति श्रद्धासुमन व्यक्त गरिएकाे छ।






S.K. Creative Media Group