प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर ६ मर्काबाङ्गमा सञ्चालित दुई महिने बुटिक बनाउने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। झिमरुक गाउँपालिकाकोआयोजनामा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत दुई महिने बुटिक सम्बन्धि पुनर्ताजगी सीप बिकास तालिम आइतबार सम्पन्न भएको हो ।
दुई महिने तालिमको समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष प्रमोद पोख्रेलले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागुगर्दै व्यावसायिक बन्न प्रेरित गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सिप सिक्ने तर निरन्तर नदिने हो भने सीप सिक्नु र नसिक्नुको कुनै अर्थ नहुने भन्दै सिकेको सिपलाई व्यवहारिक रुपमा निरन्तरता दिनुपर्नेमा उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो।
विगतदेखि नै स्थानीय तहबाट धेरै व्यक्तिहरुले तालिम लिएको तर व्यवसायमा जोडिन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पोख्रेलले पालिकाले अब सिपसँगै प्रविधि पनि सहयोग गरेर व्यावसायिक बन्न प्रेरित गर्ने योजना बनाएको बताउनुभयो।
वडाका महिला उद्यमीहरुकाे व्यवसाय सञ्चालनमा देखा परेका व्यावहारिक समस्याहरू, बजार अभाव, वित्तीय कठिनाइ तथा व्यवसायिक सुधारका लागि स्थानीय सरकारले काम गर्दै आएकोले सीप लिएपछि उद्यमीहरु सफल बन्न आफुपनी निरन्तर लाग्नुपर्ने वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो ।
तालिमका सहभागीहरुलाई प्रशिक्षक दोबन्ता पुनले तालिममा फरक प्रकारका बुटिक बनाउन सिकेको प्रति खुशी व्यक्त गर्दै सिकेको सिपलाई सबैले व्यवहारमा उतार्न सकेमात्र सिपको औचित्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा घुम्टो, साडी, क्राउन, बेल्ट, नानिबाबुलाई चाहिने भोटी, चोलीहरु, बलाउच र सुर्खेथैली बनाउने र त्यसमा कडाइ बुन्न सिकाइएको प्रशिक्षक पुनले बताउनुभयो ।
तालिममा सहभागी मिना केसीले तालिम निकै उपलब्धि मुलक भएको र थप दक्षताको लागि तालिमको आवश्यकता अनुसार उद्यमीलाई थप तालिम दिनुपर्ने माग गर्नुभएको थियो। अर्को आर्थिक वर्षमा दुइटा साना बाच्चाहरुको जुत्ता र आस्कोट बनाउने तालिमको आयोजना गरिदिन सहभागी केसीले स्थानीय सरकारसँग माग गर्नुभएको हो।
झिमरुक गाउँपालिका वडा नम्बर ६ को मर्काबाङ्गमा सञ्चालित उक्त तालिममा १० जना महिलाहरुकाे सहभागीता रहेकाे थियोे । झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनकाे अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलकाे प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हाे। कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता सीता बिकले गर्नुभएको कार्यक्रममा उद्यम बिकास सहजकर्ता सरिता भट्टराई तथा तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो।




S.K. Creative Media Group