प्युठान । जिल्लामा विभिन्न कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । बुधबार झिमरुक गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक सुरुवात गरिएको हो। प्रविधिको सही प्रयोग गरौंः लैंगिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा सहित पालिकामा अभियान केन्द्रित गरिएको हो ।

गाउँपालिकाले सद्भाव र्याली, अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सहित “म हिंसा गर्दिन, हिंसा गरेको सहन्न र देखेमा प्रतिवाद गर्छु” भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर यो अभियानको थालनी गरिएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सफल बनाउन सबै वडा बस्तितहमा सामाजिक चेतनाका कार्यक्रम गरिने बताउनुभयो ।
उहाँले हिंसा गर्नेलाई कारबाही गर्न राज्य सँधै लाग्नुपर्ने भन्दै हिंसा सहेर बस्दा पनि समाजमा समस्या भएकोले पीडितले आफ्नो समस्या सम्बन्धित ठाउँमा ढुक्कसँग राख्नुपर्ने बताउनुभयो ।

उहाँले हिंसा प्रायः महिलामाथि हुने गरेको भनिए पनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेको बताउँदै त्यसका लागि समाज सभ्य र हिंसा विरुद्ध लाग्ने तत्परता चाहिएको धारणा व्यक्त गर्नुभयो । अध्यक्ष एमसीले पालिका भित्र हुने हरेक विकास निर्माणदेखि अन्य काममा महिला र पुरुषको समान सहभागिता मार्फत हिंसा न्युनीकरणको अभ्यासले हिंसा रहित समज निर्माण गर्न सकिने बताउनुभयो ।

पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले हिंसा रहित समाज निर्माण गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभएको छ। उहाँले समाजमा सबै हातेमालो गरेर अगाडि बढेमात्र हिंसा रहित समाज बनाउन सकिने भएकोले सबैले घर, समाज र कार्यस्थललाई हिंसा मुक्त बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले हामी सबैको सोंच, दृष्टिकोण र व्यवहारमा परिवर्तन नआएसम्म हिंसामुक्त समाज बनाउन नसकिने भन्दै लैंगिक हिंसा मुक्त समाज निर्माणकालागि सबै ब्यक्ती तह समाज र निकायको विचमा हातेमालो जरुरी रहेको बताउनुभयो ।

त्यस्तै पालिकाका निवर्तमान अध्यक्ष तिलक जिसीले हिंसा विरुद्ध सबै एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कार्यक्षेत्रमा हुने, घरेलु हिंसा र अन्य क्षेत्रका हिंसाबाट मुक्त समाज बनाउन राज्यका निकाय बाहेक सामाजिक अभियान्ताहरु समेत सहभागी र सकृय बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो बदलिदो परिवेश र परिस्थितिमा हिंसाका स्वरुपहरु पनि फेरिदै जाँदा हिंसाका घटनाहरु बढ्दैजानु चिन्ताको बिषय रहेको बताउनुभयो ।

समाजमा अझैं पनि घरेलु हिंसाबाट महिलाहरु पिडित बन्नुपर्ने अवस्था रहेको भन्दै घर भित्रबाटै सुधारका कामहरु अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अझैपनी महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिनु दु:खद भएको बताउनुभयो । महिलालाई मनोरञ्जनको साधनको चिन्तन बिचार रहिआएको छ, उहाँले भन्नुभयो, “यो चिन्तन र बिचारको अन्त्य हुन जरुरी रहेको छ ।”

कार्यक्रममा जिल्ला अदालत प्युठानका श्रेस्तेदार राजेन्द्र कुमार शर्मा र सरकारी वकिल कार्यालयका प्रमुख नरेन्द्र देबकोटा महिला हिंसा सम्बन्धि कानुनी प्रावधान, कानुनी उपचार, सजाय, कानुनी शिक्षाको बारेमा जानकारी गराउनुभएको थियो ।

पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता, स्वागत प्रमुख प्रशासकीय अधिकृत विकास केसी र महिला शाखा प्रमुख शर्मिला बिकको सञ्चालनमा भएको थियो भने, अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला अदालत प्युठानका श्रेस्तेदार राजेन्द्र कुमार शर्मा र सरकारी वकिल कार्यालय प्युठानका प्रमुख नरेन्द्र देबकोटाले गर्नुभएको थियो।

कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, जिल्ला अदालत प्युठानका श्रेस्तेदार राजेन्द्र कुमार शर्मा र सरकारी वकिल कार्यालय प्युठानका प्रमुख नरेन्द्र देबकोटा, वडा अध्यक्षहरु, जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी, विद्यार्थी, स्वास्थकर्मी, स्वास्थ्य स्वयंसेविका, आमा समूह, प्रहरी, लगायतको सहभागिता रहेको थियो । १६ दिनसम्म मनाइने कार्यक्रममा पालिका सहित वडा वडामा पनि विभिन्न रचनात्मक काम गरेर दिवस मनाउने लक्ष्य राखिएको महिला शाखा प्रमुख शर्मिला बिकले जानकारी दिनुभयो । दिवसको अवसरमा सेतो रिबन लगाउने काम पनि सुरु भएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस) सम्म विश्वभर यो अभियान मनाइन्छ। यसको मुख्य उद्देश्य समाजमा हुने सबै खाले लैंगिक हिंसा अन्त्य गर्नु, पीडितलाई न्याय दिलाउनु र सचेतना जगाउनु हो।

लैङ्गिक हिंसा एक गम्भीर सामाजिक अपराध हो। यो राज्यको एकल प्रयासले नियन्त्रण हुन नसक्ने हुँदा शून्य सहनशीलता अवलम्वन गर्दै सभ्य समाज निर्माणमा सहयोग गर्न सम्पूर्ण पक्षलाई आह्वान समेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय