प्युठान । झिमरुक गाउँपालिका-८ स्थित जनता माध्यामिक विद्यालय टिमुरचौरमा जुनियर रेडक्रस सर्कलद्वारा “व्यक्त्तिगत सम्पत्ति भन्दा मानव सेवा ठुलो” भन्ने शीर्षकमा पालिका स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । बिहिवार जनता माध्यामिक विद्यालय टिमुरचौर, जुनियर रेडक्रस सर्कलको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पालिकाका ६ वटा बिद्यालयका विद्यार्थीको सहभागिता रहेको जनता माध्यामिक विद्यालय टिमुरचौरका प्रधानाध्यापक बिजयसागर गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी विद्यालय मध्येबाट प्रथम सीता माध्यमिक विद्यालय कुताकी एलिसा थापा, द्वितीय जनता माध्यमिक विद्यालय टिमुरचौरका मनोज महतरा, तृतीय लक्ष्मी माध्यमिक विद्यालय बाङ्गेमरोटका एन्जल पन्थी र सान्त्वना सत्य माध्यमिक विद्यालय तुषाराका केशव जिसीले प्राप्त गरेको प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो ।
जनता माद्यामिक बिद्यालय, जुनियर रेडक्रस सर्कलका अध्यक्ष कमल भारतीको अध्यक्षता भएको प्रतियोगितामा झिमरुक गाउँपालिका-८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयकि शिक्षिका सरस्वती भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक दिपक जिसीले गर्नुभएको थियो ।
प्रतियोगितामा वडाका जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षक, सहभागी विद्यार्थी, अभिभावक, विद्यालयको जुनियर रेडक्रस सर्कलका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
मुल्यांकनको भूमिकामा प्रगतिशील प्राथमिक विद्यालय टिमुरचौरकी प्रधानाध्यापक सरिता गिरी र प्राथमिक स्वास्थ्य चौकी टिमुरचौरका प्रमुख हरि बहादुर थापाको रहेको थियो। विद्यार्थीको विषयबस्तु, सम्बोधन, प्रस्तुति, हाउभाउ, शब्द चयन, समय लगायत विषयमा मुख्य आधार मानेर छनोट गरिएको थियो ।



S.K. Creative Media Group