माया गिरी, प्युठान । प्युठानको झिमरुक गाउँपालिका-६ तोरवाङ्गमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका ७८ वर्षदेखि ७९ वर्षसम्मका १६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत वडा कार्यालयको निर्णय अनुसार १६ जना जेष्ठ नागरिकलाई जाडोमा न्यानो दोसल्ला, एक एकवटा चरेसको थाली र कचौरि हस्तान्तरण गरिएको वडा अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । जेष्ठ नागरिक अनुभव र संघर्षको प्रतिक भएकोले उहाँहरुको अनुभव र संघर्षले भावी पिढीलाई सकरात्मक दिशातर्फ उत्प्रेरित गर्न महत्वपुर्ण योगदान पुग्ने भएकोले उहाँहरुलाई सम्मान गर्न पाँउदा आफू निकै खुसी भएको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो
अध्यक्ष महतरा क्षेत्रीले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संचालन गरिएको र आगामी दिनमा पनि निरन्तर संचालन गरिने बताउनुभयो |
झिमरुक गाउँपालिका-६ का वडा अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने स्वागत वडा सदस्य मित्रु गिरीको रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब राम कुमार चौधरीको रहेको थियो ।
कार्यक्रममा वडा सदस्य हेमराज भट्टराई, खिम कुमारी श्रेष्ठ, राधिका बिक र सम्मानित हुने १६ जना जेष्ठ नागरिक वडाका कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।
पालिकाले जेष्ठनागरिकलाई सम्मान गर्ने र एक अर्काबिच भेटघाट गर्ने अवसर जुराउनु सकारात्मक भएको जेष्ठ नागरिक केस बहादुर पुनले बताउनुभयो । उहाँले हामीलाई न्यानो बर्को र थाली कचौरि उपलब्ध गराएको प्रति खुसी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझै यो कार्यक्रमलाई थप व्यवस्थित बनाएर अगाडि बढ्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो जेष्ठ नागरिक दिवस मनाइदै आएको छ । नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ वृद्धभत्ता दिने घोषणा गरेका थिए । त्यसैको निरन्तरता स्वरुप हाल ज्येष्ठ नागरिकले चार हजार रुपैयाँ वृद्धभत्ता सरकारले उपलब्ध गराउदै आएको छ ।







S.K. Creative Media Group