प्यूठान । एक दिने अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ ।
गौमुखी अपाङ्ग सेवा संघको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी रहनुभएको थियो । प्रमुख अतिथि गिरीले अपाङ्गता भएका व्यक्तिको हित र विकासको लागि गाउँपालिका हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति, संस्था र सञ्जालसँग छलफल गरी आगामी कार्यक्रम तय गरिने बताउनुभयो ।
कार्यक्रममा अपाङ्गता सम्बन्धी ऐन नियम, सेवा सुविधा, अपाङ्गता परिचयपत्र र स्थानीय तहको भूमिका, वार्षिक नीति कार्यक्रम सम्बन्धी छलफल भएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काले गर्नुभएको थियो ।
सहभागी अपाङ्गता भएका व्यक्तिले आफूहरूले सहज रुपमा सेवासुविधा तथा अधिकार पाउन नसकेको गुनासो गरेका थिए । सहभागीहरूले क्षमता विकास, सशक्तिकरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महावीर राना, प्रमुख प्रशासिक अधिकृत तुलसीराम पौडेल, वडा अध्यक्ष, उद्योग वाणिज्य सङ्घ, प्रहरी कार्यालय, संघ संस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो ।



S.K. Creative Media Group