प्यूठान । अपांगता भएका व्यक्तिले कानुन प्रदत्त पाउने सेवा सुविधा र अधिकार कार्यान्वयनमा सवै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको एक कार्यक्रमका सहभागीले राज्यले कानुनी रुपमा दिएको अधिकारलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न सवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।


स्थानीय तह, अपांगता भएका व्यक्ति र नागरक समाजका प्रतिनिधिहरुका लागि अपांगता समावेशी विकास सम्वन्धि अभिमुखिकरण कार्यक्रममा जिल्लामा रहेका अपांगता भएका व्यक्तिले भोग्नुपरेको समस्या, चुनौती र समाधानका उपायका विषयमा छलफल भएको थियो । सहभागीले यातायात छुट नपाएको, स्वास्थ्य सेवामा छुट र सहुलियत नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले कानुनी कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सम्वन्धित जिम्मेवार निकायलाई निरन्तर जवाफदेहि बनाउनुपर्ने बताउनुभयो । उहाँले धेरै विषयहरु सुधार हुँदै गएको बताउँदै समस्याका विषयमा निरन्तर छलफल आवश्यक हुने बताउनुभयो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले स्थानीय सरकारले आफ्‌नो क्षमता अनुसार अपांगताको सवाललाई सम्वोधन गर्ने काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि बजेट तथा कार्यक्रममा सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले यातायात छुट, स्वास्थ्य सेवामा छुट तथा सहुलियतको विषयमा सम्वन्धित निकायसँग पुनः बैठक बसेर छलफल गर्ने बताउनुभयो । उहाँले राज्यको बलियो स्रोत नभएकाले कतिपय सवालहरु सम्वोधन हुने क्रममा पछि परेको बताउनुभयो ।


महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिह केसीले अपांगताको अवस्था, कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उजेली विकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय